राजनीति

पार्टी बलियो बनाउन सुजाताको आग्रह

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न युवा केन्द्रीय सदस्यहरूलाई आग्रह गरेकी छन्। सभापति शेरबहादुर देउवाइतरका युवा केन्द्रीय सदस्यहरूलाई मंगलबार आफ्नै निवासमा दिवाभोजको आयोजना गर्दै उनले पार्टीलाई बलियो बनाउन युवा नेताहरूको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको जिकिर गरेकी हुन्।

सभापति देउवाविरुद्ध संगठित हुन घुमाउरो ढंगबाट आग्रह गर्दै सुजाताले भनिन्, ‘तपाईंहरू व्यक्तिगत होइन, साझा धारणा बनाएर प्रस्तुत हुनुपर्छ।’ पार्टी विधानमा पक्ष–विपक्ष नभएर सहमतिबाट केन्द्रीय समितिबाट पारित गरेर लैजानुपर्ने धारणा राखेको सुनाउँदै दिवाभोजमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले सुजाताको भनाइ उद्धृत गर्दै भने, ‘बहुमत–अल्पमत होइन, विधानका लागि जे–जे गर्ने हो, लामो छलफल गरेर भए पनि सहमतिबाटै टुंगोमा पुग्नुपर्छ।’

पार्टी कमजोर भएकोप्रति नेत्री कोइरालाको चिन्ता रहेको सुनाउँदै अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘रणनीतिक रूपमा युवाहरू संगठित भएर लाग्नुपर्छ।’ केही दिनअघि असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताहरूलाई सुजाताले छुट्टै दिवाभोज दिएकी थिइन्। त्यतिबेला पनि उनले सहभागी नेताहरूलाई आपसी स्वार्थ त्यागेर देउवाविरुद्ध संगठित हुन आग्रह गरेकी थिइन्।

प्रकाशित: १२ मंसिर २०७५ ०१:०७ बुधबार

सुजाता_कोइराला नेपाली_कांग्रेस