राजनीति

काठमाडौं महानगरको वडामा ‘हाटा’ गर्नेमाथि छड्के

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा कार्यालयमा कार्यरत हाजिर गरेर टाप कस्ने (हाटा) कर्मचारीको छड्ने अनुगमन गरेको छ।

काम लिएर सेवाग्राही टेबुलमा पुग्दा कर्मचारी नभेटिएको गुनासो बढेपछि छड्के थालेको हो। महानगरका ३२ वटै वडामा आइतबार छड्के गर्दा बिहान ३ सय १० जना कर्मचारीले हाजिर गरेकोमा अपरान्ह ३ बज्दा ४५ जना कर्मचारीले हाटा गरेको भेटिएको हो।

‘हामीले महानगरका ३२ वटै वडामा कर्मचारी खटाएर छड्के अनुगमन गरेका थियौं,’ महानगरका सहसचिव टोकराज पाण्डेले भने, ‘बिहान वडा कार्यालयमा ३ सय १० जनाले हाजिर गरेका रहेछन्, ३ बजे छड्के अनुगमनमा जाँदा ४५ कर्मचारी टेबुलमा भेटिएनन्।’

महानगरले वडामा मात्रै नभएर यसअघि महानगर कार्यालयका विभिन्न विभाग, सचिवालय, महाशाखा, इकाइ र आयोजनामा अनुगमन गरेको थियो।

महानगर केन्द्रिय कार्यालयमा बिहान ३ सय २२ जना कर्मचारीले हाजिर गरेकामा दिउँसो ३ बजे छड्के गर्दा ६९ जना कर्मचारी टेबुलमा भेटिएका थिएनन् । वडामा छड्के गर्दा पनि केन्द्रीय कार्यालयको जस्तै हाटा कर्मचारीको संख्या अत्याधिक देखिएको महानगर प्रशासन विभाग प्रमुख तथा प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ती कर्मचारीलाई भने विभागीय कारवाही अगाडि बढाइएको महानगरले जनाएको छ।

महानगरको सेवा प्रवाह छिटोछरितो, सेवाग्रही मैत्री र प्रभावकारी बनाउन कर्मचारीको छड्के अनुगमन थालेको हो ।
‘कतिपय कामहरू कर्मचारीको कारणले ढिलासुस्ती हुने गरेको पाइयो,’ प्रवक्ता कार्कीले भने, ‘अनुसन्धान गर्दा हाटा प्रमुख कारण पाएपछि कर्मचारीको छड्के अनुगमन गरेका हौं ।’ उनका अनुसार महानगरले नियमित तालिका बनाएर महिना दुई–तीन पटक छड्के अनुमगन गरेर कर्मचारीलाई जिम्मेवार बनाउन अगाडि बढेको छ । सोही अनुसार केन्द्रीय कार्यालय हुँदै वडा कार्यालयका कर्मचारीमाथि छड्के थालेको कार्कीले बताए।

‘अनुगमन गर्दा टेबुलमा नभेटिएका कर्मचारीलाई कारवाही समेत गछौं,’ उनले भने, ‘कारवाहीको थालनी गरिसकेको छ ।’

उनका अनुसार पहिलो चरणमा महानगरको सेवा शर्त सम्बन्धी विनियमावली २०६१  अनुसार कारवाही किन नगर्ने भनेर स्पष्टीकरण पेश गराउन लगाइनेछ। महानगरले टेबुलमा नभेटिएका कर्मचारीको स्पष्टीकरण समेत लिन थालेको छ। स्पष्टीकरणपछि विनियमावली अनुसार कारवाही गरिने उनले बताए।

विनियमावलीमा हाटा गर्ने कर्मचारीलाई विभागीय कारवाही गर्न पाइन्छ । बढुवा रोकुवा, तलव वृद्धि रोकुवाको कारवाही गर्न पाउने प्रावधान छ । त्यसमा पनि चित्ता नबुझेमा भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाटै पनि हटाउन सक्ने प्रावधान विनियमावलीमा छ । स्पष्टीकरण चित्तबुझ्दो नआएमा तथा पटक–पटक हाटा गरेको पाएको खण्डमा महानगरले सेवाबाट हटाउने सम्मको कारवाही गर्न समेत पछि नपर्ने प्रशासन विभाग प्रमुख कार्कीले बताए।

महानगरमा १३ वटा विभाग छन् । त्यसैगरी त्यसको माहशाखा, शाखा, इकाई र आयोजनाहरू समेत छन् । ती सबै कार्यालय र ३२ वटै वडामा गरेर २२ सय कर्मचारीको दरबन्दी छ । तर, महानगरमा अहिले १७ सय ८१ कर्मचारी रहेका छन् । तीमध्ये सबैभन्दा बढी सरसफाइमा छन् । सरसफाइमा ११ सय बढी कर्मचारी छन् भने नगरप्रहरीमा दुई सय हाराहारी छन्।

सुरुमा महानगरले विभाग र महाशाखालाई मात्रै लक्षित गरेर छड्के अनुगमन गरेपछि क्रमशः सबै कर्मचारीलाई अनुगमन गरेर हाटा गर्ने र काममा ढिलासुस्ती कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने महानगरले जनाएको छ।

प्रकाशित: १० मंसिर २०७५ ०७:१५ सोमबार

कर्मचारी 'हाटा' छड्के