राजनीति

सरकार अलोकतान्त्रिक दिशातर्फ उन्मुख : कोईराला

बाँके(बघौडा) - नेपाली कांग्रेसका नेता डा. शेखर कोर्इरालाले सरकार अलोकतान्त्रिक दिशातर्फ उन्मुख भइरहेको बताएका छन्। बाँकेको बघौडाको गंगापुरमा नेपाली कांग्रेसले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले अलोकतान्त्रिक चरित्रकाे सरकारले जथाभावी महंगी, कर बढाएर जनताको ढाँड सेक्ने काम गरिरहेको बताए।

‘कम्युनिष्ट सरकारमा लोकतान्त्रिक चरित्र हुदैन,’ उनले भने, ‘नेपाली कांग्रेसले मात्र लोकतन्त्रको पहरेदारी गरिरहेको छ।’ सरकार गैर जिम्मेवारीका साथ प्रस्तुत भइरहेको उनले अाराेप लगाए। तराई मधेशको मामलामा विगतमा ठुलो भुल भएको बताउँदै उनले नेपाली कांग्रेसको तर्फबाट क्षमा याचना पनि गरे। ‘विगतमा भएका कमी कमजोरी हामी अब दोहोरिन दिदैनौं,’ कोईरालाले भने, ‘कांग्रेसले मधेसको मुद्दालाई पहिलेदेखी उठाउँदै आएको छ, अझैपनि मधेसको पक्षमा वकालत गर्छौ।’ मधेसको राष्ट्रियताको विषयमा नेपाली कांग्रेसलाई कुनै शंका नरहेको उनले बताए। नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमले मधेसका जनतालाई दास बनाईरहेको उनको आरोप छ।

सरकारले संघीयतालाई असफल बनाउन अहिलेपनि विभिन्न बहानाबाजी गरिरहेको कोईरालाले ठोकुवा गरे। ‘यदी संघीयता असफल भयो भने संविधान पनि असफल हुन्छ,’ उनले भने, ‘नेपाली कांग्रेस संघीयता असफल हुन दिन्न।’

त्यसअघि बघौडाको सुईयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य कोईरालाले पार्टी एक ढिक्का भएपछि मात्र कम्युनिष्ट सरकारसँग मुकाबिला गर्न सकिने धारणा राखेका थिए। बघौडाबासी बिजुली, शिक्षा, स्वास्थ्य, सिँचाई सुविधाबाट बञ्चित हुदै आएकोमा दुःख ब्यक्त गर्दै उनले काठमाडौं फर्किएपछि सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए। मुलुक अहिले अत्यन्तै अप्ठ्यारो परिस्थितीमा रहेको भन्दै नेपाली जनता सचेत रहनुपर्नेमा नेता काेर्इरालाले जाेड दिए।

 

प्रकाशित: ८ मंसिर २०७५ १४:१९ शनिबार

नेपाली_कांग्रेस। डा._शेखर_कोर्इराला