राजनीति

कम्युनिष्ट पार्टीका नाममा दलालले सरकार चलाए : कट्टेल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषी कट्टेलले झापा विद्रोह गरेँ भन्ने र जनयुद्ध गरेँ भन्नेहरुको विरुद्ध संघर्ष गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको बताएका छन्। विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा आयोजना गरेको सभामा बोल्दै कट्टेलले देशमा कम्युनिष्ट सरकार हुँदा सडकमा सभा गर्न समेत नपाइने अवस्था आएको बताए। उनले वर्तमान सरकारले कम्युनिष्ट पार्टी नाम गरेको संज्ञा दिए।

नेपालमा कम्युनिष्ट आन्दोलन पुनर्गठन आवश्यक रहेको उनको भनाई छ। कम्युनिष्ट सरकारका विरुद्ध कम्युनिष्टले संघर्ष गर्नु परिरहेको उनले बताए।

कम्युनिष्ट पार्टीको नाममा दलालहरुले सरकार चलाएको उनले आरोप लगाए। केपी शर्मा ओली र पुष्पकमल दाहालले भ्रष्टहरुको संयुक्त मोर्चाको नेतृत्व गरिरहेको आरोप लगाए।

कट्टेलले नेपालका क्रान्तिकारी नमरेको र पुनर्गठित हुँदै गरेको बताए। विगतको जस्तो केही मान्छेले बन्दुक पड्काएर क्रान्ति सफल नहुने भन्दै उनले लाखौं जनता सडकमा आउनु पर्ने बताए।

प्रकाशित: ८ मंसिर २०७५ ०९:२३ शनिबार

कम्युनिष्ट दलाल सरकार