राजनीति

पर्यटक प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न अमेरिकाको आग्रह

काठमाडौं– गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रीत रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालको राजदूतको रुपमा कार्यभार सम्हालेकोमा बेरीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे।

भेटमा राजदूत बेरीले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापन लगायतका विषयमा चासो राख्नुका साथै नेपाल आउने अमेरिकी पर्यटकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने विषय उठाएका थिए।

प्रकाशित: ७ मंसिर २०७५ १०:२५ शुक्रबार

अमेरिकी_पर्यटक प्रवेशाज्ञा_शुल्क अमेरिका