राजनीति

नेपालकाे चाैतर्फी विकासमा सघाउँछौ : राजदूत पुरी

काठमाडौं - नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालको चौतर्फी विकासमा हरतरहले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको आर्थिक–सामाजिक विकासका साथै शैक्षिक एवं सांस्कृतिक उन्नयनमा पनि भारतले निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि सक्दो सहयोग गर्ने दृढता व्यक्त गरे।

भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवका सन्दर्भमा आगामी मङ्गलबार राजदूत निवासको पटाङ्गिनीमा विश्वविख्यात तबलावादक उस्ताद जाकिर हुसेनले प्रस्तुत गर्ने साङ्गीतिक कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटमा राजदूत पुरीले नेपालप्रति भारत सधैँ सकारात्मक र सहयोगी रहेको बताए।

भाषा, साहित्य, कला, संस्कृतिका साथै गीतसङ्गीतका माध्यमबाट जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताउँदै उनले भारत र नेपालबीचको शताब्दीऔँ पुरानो सांस्कृतिक सम्बन्ध जाकिर हुसेनको प्रस्तुतिबाट नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे। “नेपाली कलाकार ज्यादै प्रतिभावान् हुनुहुन्छ, हामी कलाकार आदानप्रदान गरेर एकअर्कालाई मनोरञ्जनमात्र दिँदैनाैं सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा योगदान पनि गर्छौं,” राजदूत पुरीले भने। रासस

प्रकाशित: ५ मंसिर २०७५ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App