राजनीति

राजतन्त्र पुनर्स्थापनाको खतरा : राष्ट्रिय जनमोर्चा

काठमाडौं– राष्ट्रिय जनमोर्चाले मुलुकमा राजतन्त्र पुनर्स्थापना हुने खतरा रहेको बताएको छ। यसप्रति सबै पक्ष सचेत हुन उसले अपिल समेत गरेको छ।

मंगलबार रिपोर्टर्स क्लबमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै जनमोर्चाले यस्तो खतरा औंल्याएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको आरोप लगाए।

उनले भने, ‘अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन्। भारतको अनुकुलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ। त्यही कमजोरीमाथि टेकेर राजतन्त्र व्युतिने खतरा छ। संघीयता खारेज नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन्।’

कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादीको पोलिटव्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराको विरुद्ध आफूहरु क्रान्तिकारी एकजुट भएर जानुपर्ने आवश्यक औल्याए। उनले भने, ‘त्यसको लागि संयुक्त कार्यक्रम बनाएर जानुपर्छ।’

प्रकाशित: ४ मंसिर २०७५ ११:४३ मंगलबार

राष्ट्रिय_जनमोर्चा राजतन्त्र_पुनर्स्थापना