स्याङ्जा– नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले नेपाली जनता आत्तिसकेको बताएका छन्। सरकार जनताले दिएको म्याण्डेट पुरा गर्न भन्दा नेता कार्यकर्तालाई भर्ती गराउने कार्यमा लागेको उनले आरोप लगाए। ‘ओली सरकार जनताका लागि होइन’, उनले भने, ‘पार्टी भित्रका नेता तथा कार्यकर्ताका लागि हो। त्यसमा अझै पुराना एमाले।’ सरकार सञ्चालनका लागि जनताले दिएको स्पष्ट बहुमत वर्तमान सरकारका लागि अभिसाप भएकाले मुलुकमा नेपाली काँग्रेसको विकल्प खोज्न थालेको उनको भनाई थियो।
सरकार भ्रष्टाचार र माफियाको चक्रव्युहमा फसेकाले सरकारसँग धेरै अपेक्षा नराख्न जनतालाई आग्रह गरे। उनले भने, ‘३३ किलो सुनकाण्ड कहाँ गयो? निर्मला पन्तको बलात्कार पछिको हत्यारा खोई पत्ता लागेको?’ ३३ किलो सुनकाण्ड, निर्मला पन्त बलात्कारी र हत्यारी, वाइड बडी लगायतका प्रतिनिधिमुलक घट्ना र काण्डले पनि ओली सरकार हैसियत देखिएको उनले बताए। वर्तमान सरकारको समृद्ध नेपाल, सुखी नेपाली नारा काँग्रेसको नारा कपी गरेकाले देशको समृद्धि र जनताले सुखी पाउने आशा नभएको उनले जिकिर गरे।
अन्तर्घातले चुनाव हारे
गत साल सम्पन्न संसदीय निर्वाचनमा आफ्नै पार्टी भित्रका नेताहरुले हराएको आरोप लगाएका छन्। आइतबार वालिङमा ‘आइ लभ स्याङ्जा, वी लभ स्याङ्जा गीति एल्बम विमोचन तथा सार्वजनिक कार्यक्रममा श्रेष्ठले भने, ‘पार्टीका नेताहरु जिताउन होइन, हराउन लागे।’
पार्टी भित्रको अन्तर्घातको शिकार आफु बन्न परेकोमा उनले दुःख व्यक्त गरे। ‘प्रतिस्पर्धा विपक्षीसँग होइन, आफ्नै नेता कार्यकर्तासँग बढी गर्नुप-यो,’ उनले भने, ‘कहाँबाट चुनाव जित्नु।’ नेपाली काँग्रेसलाई शुद्धिकरणका लागि पार्टीभित्रको गुटगत शैलीको समुल अन्त्य हुनुपर्नेमा उनको जोड छ।
लामो समयदेखि समृद्ध स्याङ्जाको नेतृत्व आफूले लिइरहेको भएता पनि स्याङजेली जनताले सही मूल्याङ्कन गर्न नसक्दा दुःख पाउने संकेत देखिएको उनले जिकिर गरे। ‘दुई दशकदेखि स्याङ्जाको विकासका लागि अनवरत खटेको छु’, उनले भने, ‘तर, पार्टीका नेता र जनताले गत सालको चुनावमा धोका दिए।’ स्याङ्जाको बृहत्तर हित र विकासका लागि आफ्नो विकल्प नभएकाले एउटा माघले जाडो नजाने उनले दाबी गरे।
प्रकाशित: २ मंसिर २०७५ १३:२१ आइतबार