राजनीति

जलवायु परिवर्तन सम्मेलन सिन्धुपाल्चोकमा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

सिन्धुपाल्चोक– जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर छलफल गर्न देशभरका जिल्ला समन्वय प्रमुख सिन्धुपाल्चोकमा भेला हुँदै छन्। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन सम्वन्धि राष्ट्रिय सम्मेलन गरेर यो अवसर जुराउन लागेको हो। 

जिसस सिन्धुपाल्चोकको अगुवाइमा आगामी पुस महिनामा ७७ वटै जिल्लाका जिल्ला समन्वय प्रमुख भेला गराएर सम्मेलन गर्न लागिएको प्रमुख गोपाल (कृष्णगोपाल) तामाङले बताए। सम्मेलनको गते भने तय भइसकेको छैन्। उनका अनुसार जिल्लाको मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटरको उचार्इमा अवस्थित गुफाडाँडामा आयोजना गरिने सम्मेलनको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइने छ। 

सहभागिलाई राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको साढे २६ किमी लामो सुरुङमार्फत कार्यक्रमस्थल पु-याइने छ। सम्मेलनको पहिलो दिन झण्डै १ सयको संख्यामा रहने सवारीसाधनको अघिपछि जलवायु परिवर्तन सम्वन्धि सन्देश लेखेर एकसाथ सुरुङको बाटो हुँदै सहभागिलाई हेलम्बु क्षेत्र पु-याएर त्यहाँको पर्यटन, वातावरण अवलोकन गराइने आयोजकको तयारी छ ।

‘आउँदो शुक्रबार सम्मेलन आयोजक मूलसमारोह समिति निर्माण गरेर सम्मेलन मिति तय गर्दै छौँ,’ प्रमुख तामाङले भने। जलवायु परिवर्तनका समस्या र असरउपर बृहत छलफल गरी सरकार र सरोकारवालाई समाधानका उपाय सुझाउने उद्देश्यले सम्मेलन गर्न लागिएको उनले जानकारी दिए। ३ सय ६० डिग्रीको कोणबाट जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोटसम्मका दृश्य र बातावरण नियाल्न सकिने भएकाले गुफाडाँडा रोजिएको सम्मेलन आयोजनाको अगुवाइ गरिरहेको जिससले जनाएको छ। 

सम्मेलनमा ७७ जिल्ला समन्वय प्रमुखका साथै सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष, सरकारका सम्वद्ध मन्त्रालय तथा निकायका अधिकारी, जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधि र विज्ञलाई सहभागि गराइने प्रमुख तामाङले जनाए। उनका अनुसार सम्मेलनलाई सफल बनाउन जिल्लाका सरोकारवाला निकायसँग छलफल भइरहेको छ। 

‘जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख तथा जिल्लाबाट प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदबाट सम्मेलन गर्न म्याण्डेट पाएकाले तयारी अघि बढाएका हौँ’, उनले भने। सम्मेलनमा व्यापक सहभागिता र सबै क्षेत्रको सहयोग जुटाउन जिससदे जिल्लाका सरकारी, निजी क्षेत्र र गैह्रसरकारी संस्थासँग छलफल चलाइहेको छ। समन्वय प्रमुख तामाङले यस विषयमा आइतबार सदरमुकाममा जिल्लाका जलविद्युत प्रवद्र्धकहरुसँग छलफल गरेका थिए। सम्मेलनमा झण्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको तामाङ बताउँछन्। 
दुई दिन चल्ने सम्मेलनमा सहभागिलाई गुफाडाँडामै आवास र भोजनको व्यवस्था गरिने छ। त्यहाँ बस्ती नरहेकाले सहभागि चित्रा, भकारी र टेन्टले बनाइएको संरचनामा बस्ने छन्। उनीहरुलाई क्याटरिङको व्यवस्था गरेर ‘भिआइपी’ स्तरको भोजन र वास सुविधा प्रदान गरिने आयोजकको तयारी छ। 

प्रमुख तामाङका अनुसार सम्मेलनमा सहभागिहरुले जलवायु परिवर्तनसँग सम्वन्धित सवालमा घनिभूत छलफल गर्ने छन्। त्यहाँ वातावरण लगायत विज्ञले कार्यपत्र पेशसमेत गर्ने छन्। सम्मेलनबाटै जलवायु परिवर्तनका समस्या र असर रोक्ने सामूहिक प्रतिबद्धता जनाउँदै सिन्धुपाल्चोक घोषणापत्र जारी गरिने छ। 

सम्मेलनका प्रमुख अतिथि प्रधानमन्त्रीलाई हेलिकप्टरबाट कार्यक्रमस्थल पु-याउने आयोजकले जनाएका छन्। जिसस प्रमुख लगायत अन्य सहभागिलाई भने काठमाडौँबाट हलुका सवारी साधनमार्फत उतारिने छ। ‘सहभागिलाई राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको साढे २६ किमी लामो सुरुङमार्फत पर्यटकीय हेलम्बु क्षेत्र उतार्दै छौँ,’ प्रमुख तामाङले भने, ‘यसका लागि आयोजनासँग छलफल अघि बढाएका छौँ।’

सम्मेलनको पहिलो दिन झण्डै १ सयको संख्यामा रहने सवारीसाधनको अघिपछि जलवायु परिवर्तन सम्वन्धि सन्देश लेखेर एकसाथ सुरुङको बाटो हुँदै सहभागिलाई हेलम्बु क्षेत्र पु-याएर त्यहाँको पर्यटन, वातावरण अवलोकन गराइने आयोजकको तयारी छ। सोही दिन चर्चित पाल्चोकी माई मन्दिर दर्शन गराएर साँझ मेलम्ची बजारमा बास बसाइने छ। ‘राजधानीवासीको प्यास मेटाउने अपेक्षा गरिएको मेलम्ची खानेपानी राष्ट्रिय गौरवको चर्चित आयोजना भएकाले सम्मेलनकै अवसरमा ७७ जिल्लाकै जनप्रतिनिधिलाई प्रत्यक्ष हेर्ने मौका प्रदान गर्न लागिएको हो,’ तामाङले भने। दोस्रो दिन सम्मेलनमा भाग लिन उनीहरु गुफाडाँडा पुग्ने छन्। 

प्रकाशित: २ मंसिर २०७५ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App