राजनीति

सशस्त्र संघर्षका लागि यसरी ल्याइएका थिए हतियार

नेपाली काङ्ग्रेसको स्थापनापछि राणाविरोधीहरु उत्साहित थिए भने शासकहरुमा विरासत गुम्ने त्रास बढेको थियो। सशस्त्र क्रान्तिको निर्णय पार्टीले अनुमोदन गरिसक्दासमेत राष्ट्रिय काङ्ग्रेस पृष्ठभूमिका प्रायः सबै नेता अहिंसात्मक आन्दोलनको पक्षमा थिए। प्रजातन्त्र काङ्ग्रेसबाट आएका सुवर्ण भने सशस्त्र क्रान्तिबाट मात्र राणाशासन फाल्न सकिन्छ भन्थे। यस्तैमा एक दिन कलकत्ताको कनक बिल्डिङस्थित आफ्नो वातानुकूलित (एसी जडित) कार्यालयमा बीपीसँग छलफल गर्दै सुवर्णले भनेका थिए, “हाम्रा नेता गान्धीवादी भए, यसरी त क्रान्ति सफल हुँदैन।” अध्यक्ष मातृका आफूलाई गान्धीको खास अनुयायी ठान्थे र हातहतियारको मामिलामा टाढै बस्न रूचाउँथे। लामो छलफलपछि बीपीले सुवर्णसँग भने, “ठीक छ, सुवर्णजी तपाईं चिन्ता नगर्नुस्, उहाँ (मातृकाप्रसाद)हरुलाई गान्धीवादी कुरा गर्न दिनुस्। पैसा भयो भने हामी हतियारको व्यवस्था गर्न सक्छौं।” सुवर्ण भन्दै थिए, “खै बीपी हिन्दुस्तानमा हतियार किनौं भने दुईतीन वर्ष माटोमा गाडेर राखेका मात्र पाइन्छन्। तिनको काम छैन। अरु कुनै उपाय छ भने लगाऊँ।”

बीपीलाई मन पर्ने ‘स्टेनगन’लगायत अरु हतियार चाहिएजति पाइने निश्चित भयो। तर बर्माबाट त्यति ठूलो परिमाणमा हतियार ल्याउने काम चुनौतीपूर्ण थियो। त्यसमाथि बर्मेली नेताहरुले सर्त लगाएका थिए, “हामी रङ्गुन एयरपोर्टसम्म पु¥याइदिन्छौं। लैजाने काम तपाईंहरुले आफैं गर्नुपर्छ।”

पार्टी एकीकरण हुनुअघि हतियारको खोजीमा ठूलो धनराशि खर्च गरे पनि उपलब्धि हात नलागेका कारण सुवर्ण चिन्तित थिए। बीपीसँग उनी भन्न थाले, “कति कोसिस गर्‌यौं, भएन। हतियार जम्मा गर्न सकिन्छ भने हामीले जिम्मेवारी लिनुपर्छ। तपाईं पैसाको चिन्ता नगर्नुस्, बीपी।” राष्ट्रिय काङ्ग्रेस गठन गरेपछि आफू पनि हतियारको बन्दोवस्त गर्न लागेको तर पैसाको अभावले नसकेकोमा चिन्ता गर्दै बीपीले भने, “सुवर्णजी पैसा भयो भने हतियारको बन्दोवस्त गर्न सकिन्छ। म बर्मा जाँदा त्यहाँका साथीहरुले जति पनि हतियार दिने भनेका थिए। पैसाको अभावमा मैले लिस्ट पठाउन सकेको थिइनँ।” बीपी र सुवर्णबीचको त्यो वार्तालापपछि हतियारको खोजी तीव्र बनाइयो।

भर्खरै उपनिवेशबाट स्वतन्त्र भएको बर्मामा समाजवादीहरुको सरकार बनिसकेको थियो। भारतीय समाजवादी नेताहरु जयप्रकाश नारायण र डा. राममनोहर लोहियाको पत्र लिएर गोप्य तवरले बीपी कलकत्ताबाट रङ्गुनतिर लागे। “प्रतिरक्षामन्त्री उ. बा. स्वे र कमान्डर इन चिफ नेविनसित कुरा गरे।” बीपीले भनेका छन्, “मलाई उनीहरुले जमिनमुनि रहेको रक्षा मन्त्रालय लगे, जहाँ सैनिकहरुले प्रयोग गर्ने विभिन्न किसिमका हतियार राखिएका थिए। त्यसमध्ये मलाई मन पर्ने मोडल छान्न भने।” बीपीले हतियारको मामिलामा आफू अनभिज्ञ रहेको बताएपछि उनीहरुले नै भनेका थिए, “त्यसो भए तिमी विज्ञको टोली पठाऊ। हामी तिमीलाई चाहिएजति दिन सक्छौं।”

“ढुवानी भाडा र रङ्गुनबाट हतियार लैजाने काम नेपाली काङ्ग्रेसले आफैं गर्नुपर्ने सर्त उनीहरुको थियो।” हतियार पाउने निश्चित भएपछि उत्साहका साथ बीपी फर्किए। पहिलो पटक सित्तैमा सहयोग गर्ने र पछि परल मूल्यमा हतियार दिने वचन बर्मा सरकारका अधिकारीले दिएका थिए। त्यही आधारमा थिरबम मल्ल र भारतीय समाजवादी कार्यकर्ता भोला चटर्जीलाई बर्मा पठाइयो। मल्ल र चटर्र्जी बीपीको पत्रसहित बर्मा पुगे। चाहिएजति हतियार पाइने खबर र क्रान्तिका लागि बर्मेली नेताहरुको शुभकामना लिएर उनीहरु कलकत्ता फर्किए। बीपीलाई मन पर्ने ‘स्टेनगन’लगायत अरु हतियार चाहिएजति पाइने निश्चित भयो। तर बर्माबाट त्यति ठूलो परिमाणमा हतियार ल्याउने काम चुनौतीपूर्ण थियो। त्यसमाथि बर्मेली नेताहरुले सर्त लगाएका थिए, “हामी रङ्गुन एयरपोर्टसम्म पुर्‌याइदिन्छौं। लैजाने काम तपाईंहरुले आफैं गर्नुपर्छ।”

बीपीले मुख्यमन्त्रीलाई भने, “हामीसँग ठूलो परिमाणमा हतियार छ। त्यसलाई बोर्डरसम्म लैजान चाहन्छौं। तपाईंको मद्दत चाहियो।” बीपीका कुरा सुनेर उनी छक्क परे। त्यतिन्जेल उनको सरकार त्यसबारे अनभिज्ञ थियो। मुख्यमन्त्रीले आइजीपीलाई बोलाएर सोधे, हतियार बारे उनी पनि अनभिज्ञ।

भारत सरकारको सहयोगबिना हतियार ल्याउन सम्भव थिएन। त्यसैले पहिला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग कुरा गर्न सुवर्ण दिल्ली गए। भेटमा नेहरूले भनेका थिए, “यो मामिला नाजुक छ, हामीले तपाईंहरुलाई हतियार लैजान दियौं भन्ने सूचना लिक हुनेबित्तिकै अन्तर्राष्ट्रिय क्षेत्रमा अप्ठ्यारो पर्छ। यो मामिलामा तपाईंहरुलाई मद्दत गर्न सक्दैनौं।”

स्वतन्त्रता आन्दोलनका क्रममा बीपी, मातृकालगायत धेरै नेता भारतीय जेल परेका थिए। त्यसैले नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरिएका कुनै पनि क्रान्तिमा भारतको सहयोग पाइन्छ भन्ने अपेक्षासहित उनीहरु नेहरूकहाँ पुगेका थिए। तर छिमेकमा हुने विद्रोहका लागि नैतिकताका आधारमा हतियार दिन नसक्ने जवाफ नेहरूले दिए। उनको आशय थियो, “हतियारको व्यवस्था आफैं गर्नुस्। एक ठाउँबाट अर्को ठाउँमा लैजाने बेला हामी आँखा चिम्लिदिउँला।” त्यसपछि नेपाली काङ्ग्रेसका नेताहरु समाजवादी नेता डा. राममनोहर लोहियाका साथ गृहमन्त्री बल्लभभाइ पटेलकहाँ पुगे। पटेलले भारतीय भूमिमा हतियार भित्रिएपछि सुरक्षा संयन्त्रले अवरोध गर्नेछैन भन्ने विश्वास दिलाए। त्यसपछि मात्र बर्माबाट हतियार ल्याउने निर्णय भयो। तर त्यत्रो हतियार ल्याउने कसरी? राख्ने कहाँ? बीपी र सुवर्णबीच लामै बहस चल्यो। भारतमा महावीर शमशेरको हिमालयन एयर सर्भिस नामको जहाज कम्पनी थियो। उनकै जहाजबाट ल्याउने प्रस्ताव सुवर्णले राखे। क्रान्तिको काममा आफ्नौ जहाज प्रयोग गर्न महावीरलाई आपत्ति थिएन। तर भारतमा दर्ता भएको कम्पनी, त्यहाँको कानुनबमोजिम चल्नुपर्ने बाध्यता थियो। ठूलै जोखिम उठाएर उनले जहाज प्रयोग गर्ने अनुमति त दिए। तर उतार्ने कहाँ? अर्को समस्या आइपर्‌यो!

विश्वयुद्धताका प्रयोग भएका धेरै हवाई मैदान बिहारमा थिए। त्यस्तै एउटा मैदान थियो, पटनानजिक बिहिटामा। भारतबाट अङ्ग्रेज फर्किएपछि उजाड घाँसे मैदानमा परिणत भएको त्यही चौरमा जहाज उतार्ने निर्णय भयो। हत्तपत्त सुरक्षाकर्मीको आँखा नपर्ने, मुक्तिसेनाको क्याम्पबाट नजिक पर्ने भएकाले त्यही मैदान रोजियो। तर बीपी र सुवर्णबाहेक पार्टीको हाई कमान्डलाई समेत हतियार ल्याउने कुराको सुइँकोसम्म थिएन।

दोस्रो विश्वयुद्धमा समेत जहाज उडाएका हिमालयन एयरका अनूभवी पाइलट बुजिन्सकीलाई भेटेर बीपीले हतियार ल्याउनेबारे कुरा गरे। पाइलट तयार भइहाले। अनि कलकत्ताबाट दिल्लीका लागि उडेको खबर गरेर जहाज रङ्गुनतिर सोझियो। टावरलाई चाहिँ जहाजले रूट बिराएको सूचना दिइयो। यसरी कलकत्तावाट दिल्लीका लागि उडेको जहाज रङ्गुन विमानस्थलमा उतारियो। क्रेटका क्रेट हतियार लोड गरी जहाज बिहिटातिर सोझियो। २००७ साल कात्तिक १८ गते शुक्रबारका दिन। दुई ओटा ट्रक लिएर बीपी र सुवर्ण पहिले नै हवाईअड्डा पुगिसकेका थिए। मैदान सुरक्षाका लागि तैनाथ नेपाली चौकीदारहरुसँग केहीबेर उनीहरुको नेपालीमै कुरा भयो। आफूहरु पिकनिकका लागि आएको भन्दै सोधे, “यहाँ गाउँमा खसी, चामल र घिउ पाइन्छ कि पाइँदैन?” खुसीका साथ चौकीदारहरुले भने, “किन नपाउनु हजुर, हामी ल्याइहाल्छौं नि !” पैसा दिएपछि खुसीका साथ खसी किन्न भनेर उनीहरु गाउँतिर कुदिहाले। ठीक त्यसै बेला जहाज आइपुग्यो। अवतरण गरेर ढोका खुल्नुअघि नै ट्रक र जिपले जहाजलाई घेरिहाले। बिजुलीको गतिमा हतियार निकालेर गाडीमा लोड गरियो। बीपीले भनेका छन्, “प्लेन उत्रनासाथ सारा क्रेटहरु झिकेर लाद्यौं ट्रकमा। प्लेन उडेर गयो। तिनीहरुले देखे होलान् प्लेन उडेर गएको। हामी ट्रक लिएर फर्किहाल्याैं । खसीबोका किन्न गएकाहरु उतै रहे।”

सारा हतियार पटना कोजिनुकस्थित बीपीको डेरामा थुपारियो। त्यति बेला आठ कक्षामा पढ्दै गरेका कमल कोइराला (मातृकाका छोरा) लेख्छन्, “तीनचार ओटा अगलबगलका घरहरुमा क्रान्तिकालीन नेपाली काङ्ग्रेसको हाई कमान्डको अफिस थियो। एउटा घरमा वायरलेस थियो, जहाँबाट विराटनगर र अन्य ठाउँमा सम्पर्क हुन्थ्यो। मान्छे सुत्ने खाटमुनि राइफलका गोलीहरु तेलको बाकसमा डुबाएर राखिएका थिए।” नेपाली काङ्ग्रेसले ठूलो परिमाणमा हतियार ल्याएको विषयमा बिहार सरकारलाई सुइँकोसम्म थिएन।

हतियार थान्को लाएर बीपी मुख्यमन्त्री श्रीकृष्ण सिन्हालाई भेट्न सीधै उनकै निवास पुगे। भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा सँगै जेल बसेकाले उनका धेरै साथी र शुभचिन्तक सत्ता राजनीतिमा स्थापित थिए। स्वयम् मुख्यमन्त्री सिन्हा बीपीका असल मित्र मात्र थिएनन्, हजारीबाग जेलमा सँगै बसेका पनि थिए। सिन्हा बिहान अबेरसम्म पाठपूजामा बिताउँथे। पूर्वजानकारीबिनै बीपी भेट्न आएको खबर पाउनासाथ उनलाई माथिल्लो तलामै बोलाए। क्रान्तिका लागि सहयोग माग्न आएको बताउँदै बीपीले मुख्यमन्त्रीलाई भने, “हामीसँग ठूलो परिमाणमा हतियार छ। त्यसलाई बोर्डरसम्म लैजान चाहन्छौं। तपाईंको मद्दत चाहियो।” बीपीका कुरा सुनेर उनी छक्क परे। त्यतिन्जेल उनको सरकार त्यसबारे अनभिज्ञ थियो।

मुख्यमन्त्री: तपार्इंहरुसँग हतियार छ?

बीपी: धेरै ठूलो परिमाणमा छ।

बिहार प्रहरीका प्रमुखलाई तत्क्षण फोन गरी मुख्यमन्त्री सिन्हाले आफ्नै निवासमा बोलाए।

मुख्यमन्त्री: आईजीपी साहेब तपार्इं उहाँलाई चिन्नुहुन्छ?

आईजीपी: चिन्छु सर। मैले उहाँलाई भेटेको छु। कोइरालाजी क्रान्तिकारी हुनुहुन्छ।

मुख्यमन्त्री: तपाईंलाई थाहा छ कि ठूलो परिमाणका हतियार पटना भित्रिएका छन्।

आईजीपी: थाहा छैन, सर।

मुख्यमन्त्री: कोइरालाजी भन्दै हुनुहुन्छ कि उहाँहरुले ठूलो परिमाणमा हतियार राख्नुभएको छ। तपाईंलाई कुनै सूचना छैन?

आईजीपी: छैन सर ।

बीपी: हो मसँग छ। कोजिनुकमा। त्यसलाई बोर्डरसम्म लग्नु छ। तपाईंको मद्दत चाहियो। पक्राउ नगरिदिनुहोला भनेर अनुरोध गर्न आएको म।

मुख्यमन्त्री: ठीक छ, आईजीपी साहेब। कति मद्दत गर्न सक्नुहुन्छ, कोइरालाजीलाई सहयोग गरिदिनू।

“आईजीपीः ठीक छ सर। म कोइराला साहेबसँग कुरा गरेर मिलाउँछु।”

मुख्यमन्त्री निवासबाट फर्किएपछि आईजीपीले बीपीलाई सोधे, “तपाईं कहाँकहाँ हतियार पु¥याउन चाहनुहुन्छ?” बीपीले भने, “अलिकति रक्सौल अनि अरु ठाउँमा पनि।” आईजीपीले उपाय सुझाए, “लैजाने दुई तरिका हुन सक्छन्। एउटा, तपाईंहरुले आफैं लिएर जाने। यो एकदमै संवेदनशील विषय छ। कतै समातियो भने हाम्रो सरकारलाई गाह्रो पर्छ। बरू म नै बोर्डर निरीक्षणको कार्यक्रम बनाउँछु। त्यसै बेला सामान लिएर हिँड्छु। कहाँकहाँ पुर्याउनुपर्छ, पुर्याइदिन्छु।”

हतियार सङ्कलन गर्दाको अर्को घटना बीपीले आत्मवृत्तान्तमा उल्लेख गरेका छन्। पाल्पाका बडाहाकिम रूद्र शमशेरका नाती लखनऊमा वकालत गर्थे। उनैले बीपीलाई खबर गरे, “लखनऊमा एउटा ट्रान्समिटिङ उपकरण, अलिकति राइफल्स र यस्तै किसिमका हातहतियारका छ ओटा बाकस पाइएको छ, केही खास दाममा।”  खबर पाउनासाथ बीपी त्यतातिर लागे। लखनऊ विश्वविद्यालयका उपकुलपति आचार्य नरेन्द्रदेवको पाहुना भएर बसे। “रातको १२ बजे छ बाकस हतियार किनेर आफू सुत्ने खाटमुनि राखिदिए।” त्यतिन्जेल आचार्यलाई आफ्नो निवासमा हतियार छ भन्ने सुइको समेत थिएन। बिहानै उठेर झ्यालबाट बाहिर नजर लगाउँदा उनी देख्छन्, “निवासबाहिर सादा पोसाकका दुई जना मानिस यताउता गरिरहेका छन्। पाइन्ट, सर्ट र बुट लगाएर हातमा छडी लिएका।” बीपीका एक साथीले भने, “हेर्नुस् त ती दुई प्रहरी अफिसर जस्ता लाग्छन्।” केही बेरपछि दुवै जना निवासभित्रै छिरे। उपकुलपति नरेन्द्रदेवलाई भेट्ने भन्न थाले। त्यतिन्जेल उनी उठेकै थिएनन्। उठेपछि आचार्य आफैं बीपीको कोठामा पुगे र भने, “डिस्ट्रिक्ट मेजिस्ट्रेट र एसपी आएका छन्। उनीहरु भन्दै छन् कि, राति यहाँ केही हतियार आएको छ। तिमीले केही ल्याएका छौ?” बीपीले भनेका छन्, “म लज्जित भएँ। भनें— हो, केही हतियार ल्याएका छौं। तपार्इंलाई थाहै छ हामी क्रान्तिका लागि हतियार जम्मा गरिरहेका छौं। मध्यरातमा आएकाले तपाईंलाई खबर गर्न सकिएन।”

“ठीक छ सफाइ दिन जरूरी छैन, म उनीहरुलाई के भनौं त?” आचार्यले भने। बीपीले भने, “तपार्इं भनिदिनुस् हतियार आएको छ। तर यहाँ उनीहरु प्रयोग गर्दैनन्।” आचार्यले बीपीको कुरा सुनाए। तर प्रहरीले हतियार जफत गर्ने अडान छोडेन। आचार्य फेरि कोठामै आइपुगे “अब के गर्ने बीपी” भन्न थाले। “यति मुस्किलसँग जम्मा गरेका हतियार कसरी जफत गर्न दिन्छौं? ठीक छ, माथिको आदेश नआउँदासम्म केही नगर्न भनिदिनुस्,” बीपीले भने । उपकुलपतिले प्रहरी अधिकारीसँग के कुरा गरे थाहा भएन। तत्काल हतियार जफत गरिएन। अनि बीपीले गृहमन्त्रीसँग कुरा गरे। हतियार छाडियो। मध्यरातमा ती हतियार बोर्डरतिर लगियो। (यसैसाता सार्वजनिक हुन लागेको पत्रकार नेपालको पुस्तक बीपीको विद्रोहबाट।)

प्रकाशित: २ मंसिर २०७५ ०७:४३ आइतबार

सशस्त्र_क्रान्ति हतियार बर्मा बीपीको_विद्रोह