राजनीति

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखापर्दै

काठमाडौं– लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापर्दैछन्। 
दशैं अगाडि सार्वजनिक कार्यक्रममा देखिएका प्रधानमन्त्री ओली शुक्रवार काठमाडौमा भइरहेको कोलम्बो प्रोसेसको कार्यक्रममा सहभागी हुँदैछन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा‍‌. कुन्दन अर्यालका अनुसार बिहान साढे ११ बजे ओलीले सोल्टी होटलमा आयोजना हुने कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नेछन्।

दशैंको छेकोमा राष्ट्रपति कार्यालय शितल निवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका कार्यक्रममा मात्र देखिएका ओली त्यसपछि विरामी भएका थिए। उनी पाँच दिनसम्म त्रिवि शिक्षण अस्पतालमा उपचार गरेर फर्केपछि बालुवाटारमा आयोजित तिहारका सिमित कार्यक्रममा देखिनु बाहेक निवासबाट बाहिर निस्केका थिएनन्। ओलीले मन्त्रीपरिषदका बैठक पनि बालुवाटारमै गराउँदै आएका थिए।

आप्रवासी श्रमिकको हक हितका लागि साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा जारी छ। यो बैठकले काठमाडौ घोषणापत्र जारी गर्दैछ। बिहीवार सम्पन्न सचिवस्तरीय बैठकले घोषणापत्रको टुंगो लगाएको छ। शुक्रबारको मन्त्रिस्तरीय बैठकले त्यसलाई अनुमोदन गरि जारी गर्नेछ। 

कोलम्बो प्रोसेस वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च हो। कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आवद्ध छन्। नेपाल, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम कोलम्बो प्रोसेसका सदस्य राष्ट्र हुन्। सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ।

प्रकाशित: ३० कार्तिक २०७५ ०६:१९ शुक्रबार

प्रधानमन्त्री_अाेली सार्वजनिक_कार्यक्रम कोलम्बो_प्रोसेस वैदेशिक_रोजगार काठमाडौ_घोषणापत्र