राजनीति

एकीकरण भाडिएपछि राप्रपामा आरोप प्रत्यारोप

काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच हुने भनिएको पार्टी एकता अन्तिममा रोकिन पुगेपछि नेताहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ।

कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी) बीचको एकता प्रक्रिया रोकिएपछि आरोप प्रत्यारोप सुरु भएको हो । मुख्यतः राजसंस्था र चुनाव चिन्हका विषयमा ३ पार्टीबीच सहमति हुन नसक्दा अन्तिममा आएर सो एकता प्रक्रिया रोकिन पुगेको हो।

राणा नेतृत्वको राप्रपाले राजसंस्थाबारे स्पष्ट दृष्टीकोण दिन नसकेको थापा पक्षधरको आरोप छ । तर, राणाले भने त्यसका बारेमा प्रस्टीकरण दिने प्रयास गरिरहेका छन् । उनले ‘राजसंस्था’ लेख्नुको सट्टा ‘परम्परागत संस्था’ लेख्नुपर्ने सर्त राखेका छन् जसलाई थापा पक्षधरले स्वीकार गरेको छैन । ‘राप्रपा प्रजातान्त्रिक तीन पार्टी मिलाउन प्रतिबद्ध छ । हामी प्रजातन्त्र, राष्ट्रियता र उदारवादसहित हिन्दू राष्ट्र र परम्परागत संस्थाप्रति आस्था राख्ने सबैलाई समेट्न पर्छ र फराकिलो एकता हुनपर्छ भन्ने कुरामा अडिग छौं,’ राणाले भने, ‘हामी एकताप्रति सकारात्मक छौं ।’ राणाले एकता प्रक्रियाबाट राप्रपा प्रजातान्त्रिक भाग्न नखोजेको प्रस्टीकरण दिएका छन् । उता कमल थापाले भने राणाको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै एकीकरणको प्रक्रियाबाट भाग्न खोजेको आरोप लगाएका छन्।

‘पशुपतिजीको अभिव्यक्ति गलत र एकताको भावना विपरीत छ, राजसंस्थाबारे स्पष्ट प्रतिबद्धता र हिन्दुत्वको प्रतीक गाई चुनाव चिन्ह एकताको न्यूनतम शर्त भन्ने उहाँले बुझ्नु पर्छ,’ थापाको भनाइ छ, ‘उहाँको भनाइबाट स्पष्ट हुन्छ, एकता किन र कसले बिथोल्यो ? आरोप प्रत्यारोप होइन लाखौ पार्टी कार्यकर्ताको भावनाको सम्मान गरौं ।’ उनले राजसंस्थाबारे स्पष्ट दृष्टीकोण दिन राणा र लोहनी पक्षधरसँग माग गर्दै आएको छ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रहको माग गर्दै आएको थापा नेतृत्वको राप्रपा सोही मागमा अडिग छ । तर, राणा नेतृत्वको राप्रपाले भने गणतन्त्रलाई स्वीकार गरिसकेको अवस्था छ जसबाट पछि हट्ने अवस्था सो पार्टीका सामु भने छैन । लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीले भने अझैसम्म एकीकरणको प्रक्रियाका बारेमा कुनै औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

राप्रपा प्रजातान्त्रिकले ‘परम्परागत संस्था’ भनेर राजसंस्थाको बारेमा लचिलो भएको देखाए तापनि अझै स्पष्ट दृष्टिकोण नदिएको भन्दै थापा पक्षले दबाब बढाइरहेका छन् । ‘कसैलाई भ्रम नरहोस, हिन्दू राष्ट्र, राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासन राप्रपाको सिद्धान्त र आदर्श हो । यी मान्यता नेपाली राष्ट्रवादको अभिन्न अंग हुन्,’ थापाले सर्त अघि सार्दै भनेका छन, ‘बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा समान विचारधारा भएका दलहरुसँग एकता गर्दा उक्त मान्यता न्यूनतम शर्त हुनेछ ।’ उनका अनुसार समान विचारधारा भएका दलहरुसँग एकताको ढोका खुला राख्दै सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको जगमा सबल र सवृद्ध नेपाल निर्माणको यात्रामा राप्रपा अविचलित अघि बढ्न सक्नुपर्छ।

यसअघि भएको एकता महाधिवेसनबाट पारित भइसकेको नीति, विधान र गाई चुनाव चिह्नलाई बटमलाइन मानेर पार्टी एकीकरणको प्रक्रिया सुरु गर्नुपर्ने थापा पक्षधरको भनाइ छ । राप्रपाका तीन घटक मध्ये थापा नेतृत्वको पार्टीले मात्रै संघीय संसद्मा उपस्थिति जनाएको छ, जसको नेतृत्व राजेन्द्र लिङदेनले गरिरहेका छन् । अन्य दुई घटक गत चुनावबाट संघीय संसद्मा प्रतिनिधित्व हुन असमर्थ भए । राप्रपाको घटकहरु चुनावअघि एकीकरण भएर केही महिना भित्रै विभाजित भई अलग अलग चुनावमा होम्मिएका थिए । तर, निर्वाचन परिणाम राप्रपाको अनुकूल नभए पछि पुनः पार्टी एकीकरणको प्रयास सुरु भएको थियो।

प्रकाशित: २८ कार्तिक २०७५ ०२:०० बुधबार

राप्रपा आरोप_प्रत्यारोप