राजनीति

सरकार चाँडै लोकप्रिय हुने दाहालको दावी

विराटनगर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकार चाँडै लोकप्रिय हुने दाबी गरेका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले सरकारले दीर्घकालिन महत्वका योजनाहरू निर्माण गरिसकेको र अब, कार्यान्वयनमा लैजाने भएकाले सरकार लोकप्रिय बन्ने दावी गरे।

‘सरकारले हालसम्म योजना निर्माणको काम सकेको छ। अब, कार्यन्वयन थाले पछि लोकप्रिय बन्ने छ’, दाहालले भने, ‘भित्री तयारीका काम गर्दा सरकार अलोकप्रिय जस्तो देखिए पनि योजना कार्यान्वयन सुरू भएपछि लोकप्रिय हुन्छ।’ सरकार तत्कालै  लोकप्रियता खोज्ने भन्दा  दीर्घकालिन पूर्वाधार तयार पार्नेतर्फ लागि परेको उनले बताए।

पार्टी एकिकरणमा ढीलाई भएको स्वीकार गर्दै दाहालले केन्द्रमा विवाद भएर ढीलाई नभएको बताए। पछिको सजिलोका लागि अहिले ढिलाई गरेर सबैको चित्त बुझ्ने गरी एकिकरण गरिने उनले बताए। छठ पछि पार्टीको स्थायी समिति बैठक बसेर सबै विषय मिलाउने उनले जानकारी दिए।

मन्त्रीमण्डल परिवर्तनको हल्ला चले पनि  तत्काल परिवर्तन नहुने उनले जानकारी दिए। ‘सरकारको गियर परिवर्तन गरेर कामलाई गति दिने भनेको हो’, दाहालले भने, ‘मन्त्रीमण्डल हेरफेर गर्ने भनेको होइन।’

प्रकाशित: १९ कार्तिक २०७५ ०६:३४ सोमबार

नेपाल_कम्युनिष्ट_पार्टी पुष्पकमल_दाहाल