राजनीति

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : प्रमुख आयुक्त घिमिरे

नेपालगञ्ज- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्। 

आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने छुट र भ्रष्टाचारबाट उन्मुक्ति पाउने छुट कसैलाई नहुने बताए। 

प्रमुख आयुक्त घिमिरेले गाउँगाउँमा काम गर्ने राष्ट्रसेवक कर्मचारीको व्यवहारबाटै सर्वसाधारणमा सरकारप्रतिको विश्वास बढ्ने बताउँदै प्रदेश र स्थानीय सरकार तथा राष्ट्रसेवक कर्मचारी सबैले प्राप्त उपलब्धिको संस्थागत विकास र संरक्षणमा इमान्दारीपूर्वक सक्रिय भएर लाग्नुपर्ने आवश्यकतामाथि जोड दिए। 

आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार रु पाँच करोड २८ लाख ४५ हजारको लागतमा उक्त सम्पर्क कार्यालयको प्रशासनिक र सुरक्षा भवनको निर्माण सम्पन्न भएको हो। 

प्रकाशित: १७ कार्तिक २०७५ १६:०२ शनिबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग भ्रष्टाचार