राजनीति

समयमै कार्य सम्पन्न गर्नेलाई पुरस्कृत गरिने : अध्यक्ष दाहाल

बुटवल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आज निरीक्षणका क्रममा उनले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हुँदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको समेत बताए।

उनले भने, ‘बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व झन दिनप्रतिदिन बढ्दै गएको छ।’ विमानस्थल निर्माणको कार्य सन्तोषजनक भएको भएता पनि अझै धेरै काम गर्नुपर्ने रहेको उनको भनाइ थियो।

सो अवसरमा आयोजनाका अधिकृत प्रदीप अधिकारीले आयोजनाको बारेमा प्रकाश पार्दै ५५ प्रतिशत काम सम्पन्न भएको बताएका थिए।

अध्यक्ष दाहालसँगै नेकपा महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री छविलाल विश्वकर्मा, पूर्वसभामुख ओनसरी घर्तीसहित, प्रदेश सरकारका मन्त्री भैरहवा पुगेका हुन्। नेपालीको मुख्य पर्व विजयदशमी, दीपावली, छठ, नेपाल संवत्का अवसरमा नेकपाद्वारा आज बुटवलमा आयोजना गरिने शुभकामना कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रासस

प्रकाशित: १७ कार्तिक २०७५ ०७:०० शनिबार

नेपाल_कम्युनिष्ट_पार्टी पुष्पकमल_दाहाल