राजनीति

प्रदेश १ : योजना आयोगको उपाध्यक्षमा प्याकुरेल नियुक्त

विराटनगर– प्रदेश योजना आयोगको उपाध्यक्षमा सुबोधराज प्याकुरेल नियुक्त भएका छन्। बुधबार प्रदेश १ को  मन्त्रिपरिषद् बैठकले मानव अधिकारवादी संस्था इन्सेकका अध्यक्ष प्याकुरेललाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। 

आयोगका अन्य सदस्यहरूमा मीना भण्डारी र पूर्ण लक्सम नियुक्त भएका छन्। आयोगका अन्य दुई सदस्य पछि नियुक्त गरिने सरकारका प्रबक्ता हिक्मतबहादुर कार्कीले जानकारी दिए। 

यस्तै, बैठकले संविधानसँग मेल नखाने गरी पुरानै ढाँचाको नाममा सञ्चालित कार्यालय तथा संस्थाहरूको नाम सच्याउने निर्णय गरेको छ। पुराना कार्यालयहरूको पहिचान र नाम  तथा संरचना परिवर्तनका लागि मुख्यससचिव केदार न्यौपानेलाई १५ दिनको समय दिने निर्णय पनि गरेको छ। 

यस्तै सुनसरीको कोसी गाउँपालिकाको कोसी कटान क्षेत्रमा रिफ्रेसमेन्ट सेन्टर निर्माणको स्वीकृति प्रदान गरेको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम  र पाँचथरमा दुईवटा नयाँ शहर विकास गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरको छ। 

बैठकले प्रदेशको सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियामावली कार्यविधि २०७५लाई स्वीकृति प्रदान गरेको छ। संघीय सरकारले हस्तान्तरण गरेका कार्यालयको भौतिक सम्पत्ति प्रदेश मातहत ल्याउने कोशी विज्ञान प्रतिष्ठान सम्बन्धी मस्यौदालाई स्वीकृत गर्ने, प्रदेश विकास स्वयंसेवक परिचालन कार्यक्रम २०७५ लाई स्वीकृत गरेको छ। झापाको दमक स्थित ग्रामिण सडक सुधार आयोजनालाई प्रदेश मातहतमा ल्याउने निर्णय पनि गरेको प्रबक्ता कार्कीले जानकारी दिए। 

प्रकाशित: १४ कार्तिक २०७५ ०९:१२ बुधबार

प्रदेश_१ योजना_आयोग सुबोधराज_प्याकुरेल