राजनीति

‘कांग्रेस पहिलो बन्छ’

खोटाङ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी दिनमा हुने चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेस जन्तेढुङगा गाउँपालिका कार्य समिति खोटाङले मंगलबार चिसापानीमा आयोजना गरेको बिपी कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले आन्तरिक समस्या हल गर्दै आगामी चुनावका लागि योजना निर्माणमा लागेको बताए।

‘को योजना नेपाललाई समृद्ध बनाउने रहेको भए पनि केही प्राविधिक कारणले मात्र पराजय भोग्नु परेको हो,’ महामन्त्री कोइरालाले भने, ‘आगामी दिनमा कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या हल गर्दै आउँदो चुनावका लागि योजना निर्माण गर्नतर्फ लागेको छ । चुनावमा तल पर्दैगर्दा निरास हुनुपर्ने आवश्यकता छैन।’

नेकपाको एकता प्रभावले कांग्रेस बलियो हुने वातावरण बनेको उल्लेख गर्दै कोइरालाले पार्टीभित्रको गुटउपगुट अन्त्या गर्दै एकताबद्ध भएर अगाडि बढ्नेक्रममा कांग्रेसलाई मुलुकको पहिलो पार्टी बन्नबाट कुनै ताकतले रोक्न नसक्ने दाबी गरे । उनले कांग्रेसले २० वर्षको अवधिमा ८४ हजार सडक निर्माण गरेको, देशमा एक मात्र मेडिकल कलेज रहेकोमा १५ वटा मेडिकल कलेज स्थापना गर्न पहल गरेको बताए।

यस्तै, कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाको एकता बाँडीचुडी खाने मेलोमात्र भएको आरोप लगाएका छन् । महामन्त्री कोइरालासँगै खोटाङ आएका पौडेलले एकताको बहानमा नेकपाले राज्यकोषलाई मिलीजुली खाने मेलो मात्र बनाएको आरोप लगाएका हुन् । ‘संसारमा एउटै पार्टीका दुई अध्यक्ष भएको देश नेपाल मात्र भएको छ । मिलीजुली खानलाई नेकपाको एकता भएको हो । केन्द्रमा एकता भए पनि तल्लो तहको एकतामा समस्या छ,’ पौडेलले भने, ‘ओली सरकारलाई कांग्रेसले होइन आफू प्रधानमन्त्री बन्नका लागि प्रचण्डले नै अगाडि बढ्न दिनेवाला छैन।’

प्रकाशित: १४ कार्तिक २०७५ ०१:२५ बुधबार

नेपाली_कांग्रेस महामन्त्री चुनाव