राजनीति

संसद बैठक अवरुद्ध गर्छौं : कंडेल

रुकुम - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद् देबेन्द्रराज कंडेलले अब सञ्चालन हुने संसद् बैठक चल्न नदिने बताएका छन्। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधिलाई लामो समयसम्म पनि सार्वजनिक गर्न नसकेको भन्दै उनले अपराधि सार्वजनिक नभसम्म संसद् बैठक चल्न नदिने बताए।

सोमबार नेपाल प्रेस युनियन रुकुम (पश्चिम) ले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद कंडेलले अपराधिलाई सरकारले नै संरक्षण गरेको अरोप समेत लगाए। त्यहाँ कार्यरत एसपी डिल्लीराज विष्टलाई बर्खास्त गर्दैमा पीडित परिवारले न्याय नपाउने उनको भनाई थियो। घटनाको वास्तविकता लुकाउन एसपी विष्टलाई बर्खास्त गरिएको भन्दै उनले सरकारको आलोचना समेत गरे। 

विभिन्न ठाउँमा भइरहेका हत्या, हिंसा र बलात्कारका घटनाका दोषिलाई पक्राउ गर्न नसक्नुने वर्तमान सरकार शान्ति सुरक्षामा असक्षम भएको प्रष्ट हुने पूर्व गृहराज्य मन्त्री समेत रहेका कंडेलले बताए। गृह प्रशासनकै कमजाेरी र असक्षमताका कारण अपराधिले उन्मुक्ति पाएको उनको आरोप छ।

सांसद कंडेलले अहिले वर्तमान सरकार पतनको बाटोमा गएको जिकिर गरे। दुई तिहाइको सरकारले अहिलेसम्म एउटा पनि राम्रो काम नगर्नुले आफ्नै चुनावमा घोषणा गरेका प्रतिबद्धता समेत विर्सीएको प्रष्ट हुने उनको भनाई थियो। वर्तमान सरकारले अहिलेसम्म सम्झनलायक एउटा पनि राम्रो काम नगरेकाले अब गर्ने आशा समेत नागरिकले नगरेको उनले बताए। 

 

प्रकाशित: १२ कार्तिक २०७५ १०:२२ सोमबार

नेपाली_कांग्रेस देबेन्द्रराज_कंडेल