राजनीति

नेकपा स्थायी समिति बैठक पछि धकेलिदै

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पछि धकेलिने संभावना बढेको छ। आगामी कात्तिक १२ र १३ गते बस्ने स्थायी समिति बैठक आवश्यक तयारी पूरा नभएको भन्दै पछि धकेल्ने तयारी भएको नेकपा स्रोतले जनाएको छ। नेकपाको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न बनेको दुई सदस्यीय कार्यदलले काम गर्न नभ्याएको र सचिवालय सदस्यहरू समेत विदेश भ्रमणमा रहेका कारण स्थायी समितिको बैठक निर्धारित मितिमा बस्न नसक्ने स्रोतले जनाएको छ।

कार्यदलका एक सदस्य एवं गृहमन्त्री थापा र स्थायी समिति सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली राष्ट्रपति विद्यादेवी भण्डारीसँगै कतारमा भ्रमण जानेछन्। उनीहरुको भ्रमण आइतबार बस्ने मन्त्रीपरिषदले स्वीकृत गर्नेछ। आइतबार नै अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेल चितवनको पार्टी कमिटीले आयोजना गर्ने चियापान कार्यक्रममा सहभागी हुनेछन्।

सो कार्यदलको बैठक शुक्रबार एक चरण बसेको थियो। शुक्रबार प्रदेश कमिटिमा चयन हुने सदस्यहरुको बारेममा सामान्य छलफल भएपनि नाम टुगिंएको छैन। शनिबार चियापान भएका कारण बस्न सकेन भने आइतबार महासचिव पौडेल काठमाडौबाहिर जाने भएकाले कार्यदलको बैठक नबस्ने भएको स्रोतले जनाएको छ। अर्का सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणबाट १३ गते अपराह्न मात्रै काठमाडौं आउँनेछन्।

प्रकाशित: ११ कार्तिक २०७५ ०१:२१ आइतबार

नेपाल_कम्युनिष्ट_पार्टी