राजनीति

अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका कामकारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन्।

शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे।

उनले भने, ‘विदेशीले नेपाल टेक्ने बित्तिकै हुने उसको फस्ट एक्सपिरियन्स महत्वपूर्ण हुन्छ। पहिलो अनुभव नै नराम्रो भयो भने उ फर्केर फेरि नेपाल आउँदैन। साथीहरुलाई पनि नजान सुझाव दिन्छ। तर अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन् गरेर तपाईहरुले काम गर्नुस।’

विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएकोले त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्नुपर्नेमा गृहमन्त्री थापाले जोड दिए।

उनले भने, ‘यहाँ काम गर्ने कर्मचारीको मुख्य तीन जिम्मेवारी रहेको छ। पहिलो राष्ट्रिय सुरक्षाको जिम्मेवारी, दोस्रो देशको अर्थतन्त्रको विकासको जिम्मेवारी र तेस्रो मुलुकको सभ्यता, सस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी रहेको छ।’

आगामी वर्षलाई अध्यागमन वर्षको रुपमा मनाउने प्रस्ताव आएको भन्दै त्यसबारे सकारात्मक निर्णय लिन मन्त्रालय तयार रहेको गृहमन्त्री थापाले स्पष्ट पारे।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले अध्यागमनका लागि आवश्यक स्रोत, साधनमा कमी हुन नदिईने प्रतिवद्धता व्यक्त गर्दै अध्यामगनलाई थप व्यवस्थित बनाउन निर्देशन दिए।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामनका लागि आवश्यक नयाँ सफ्टवेयर जडानका लागि काम अघि बढिसकेको जानकारी दिँदै महिनाभित्र अध्यामन प्रणालीलाई थप आधुनिक प्रविधिमार्फत काम गर्ने गरी प्रक्रिया अघि बढेको बताए।

सो  क्रममा गृहमन्त्री थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगन  निरीक्षण गरेका थिए।

प्रकाशित: ९ कार्तिक २०७५ १०:०० शुक्रबार

रामबहादुर_थापा अध्यागमन_विभाग निर्देशन