राजनीति

तराई टुक्राउने नियतले प्रदेश २ को प्रहरी विधेयकः मसाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले  हालै प्रदेश नं.२ले ल्याएको प्रहरी विधेयक मधेश टुक्राउने नियतले ल्याइएकाे टिप्पणी गरेको छ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले आज एक विज्ञप्ती जारी गरी भारतीय दवावमा प्रदेश सरकारले उक्त विधेयक ल्याएको भन्दै यसले नेपालमा राष्ट्रिय विघटनको स्थिति सृजना गर्ने बताएका छन्।

 २ नं प्रदेशले स्वयं आफै प्रहरीको संरचना बनाउन सक्ने विधेयक पारित गरेको छ । यसपछाडि बेग्लै सशस्त्र शक्ति तयार पारेर तराईलाई नेपालबाट बेग्लै गराउने उद्देश्य राखिएको दाबी सिंहको छ।

संघीयता कै कारण यस्तो विकृति आएको भन्दे विज्ञप्तीमा भनिएको छ,‘ उनीहरूले संविधानमा कैयौँ संशोधनहरू गर्नुपर्ने माग गरिरहेका छन् । भारतीय विस्तारवादको दीर्घकालिन योजनाको एउटा अङ्ग नै अहिलेको २ नं. प्रदेशको प्रहरी विधेयक हो।’ 

विज्ञप्तीमा अहिलेसम्मको प्रारम्भिक घटनाक्रमबाट संघीयता देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र बृहत्तर राष्ट्रिय हितका विरुद्ध भएको उल्लेख गरिएको छ। सिंहले संघीयता खारेज गराउन सीघ्र प्रभावशाली कदम उठाउनुपर्ने आवश्यकता रहेको औल्याएका छन्।

प्रकाशित: ७ कार्तिक २०७५ १०:३३ बुधबार

प्रदेश_२ प्रहरी_विधेयक नेपाल_कम्युनिष्ट_पार्टी_(मसाल)