राजनीति

नेपालका गुनासा सुनिए, सुनुवाइ भएनन्

काठमाडौ – सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा नेता माधवकुमार नेपालले पार्टीभित्र दर्ता गराएको असन्तुष्टीमाथि छलफल भएको छ।

नेता नेपालले पार्टी विधि र विधानअनुसार नचलेको भन्दै पार्टीभित्र लिखित असन्तुष्टी दर्ता गराएका थिए । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल देशबाहिर रहेका बेला नेता नेपालले स्थायी समितिको भेला डाकेर आफ्ना असन्तुष्टि व्यक्त गरेका थिए।

नेता नेपालका असन्तुष्टीमाथि सचिवालय बैठकमा छलफल गर्ने अध्यक्षद्वयले प्रतिबद्धता जनाएका थिए । सोमबारको बैठकमा नेता नेपालले उठाएका प्रश्नका बारेमा लामो छलफल भए पनि गुनासाको सुनुवाई भने नभएको एक नेताले जानकारी दिए । ‘नेता नेपालका गुनासाका बारेमा छलफल भए तर सुनुवाई भएनन्,’ उनले भने।

नेता नेपालले सचिवालयले प्रदेश पदाधिकारीको नियुक्ति गरेको विषयमा असन्तुष्टी जनाउँदै महत्वपूर्ण निर्णय स्थायी समितिमार्फत टुंग्याउनुपर्ने माग राख्दै आएका थिए । नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सोमबारको बैठकमा नेता नेपालका असन्तुष्टीबारे छलफल भएको तर विगतमा भएका निर्णयहरुलाई यथावत राख्ने निर्णय गरेको जानकारी गराएका छन् । बैठकले आगामी दिनमा विधि र पद्धतिलाई पालना गर्ने निर्णय समेत गरेको छ।

सचिवालय बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामालाई अस्वीकृत गरेको छ । नेता श्रेष्ठले डा. गोविन्द केसीको अनसनका विषयमा पार्टी लाइन विपरीत भेटघाट तथा अभिव्यक्ति दिएको भन्दै पार्टी नेतृत्वले असन्तुष्टि व्यक्त गरेपछि पदबाट राजीनामा दिएका थिए । नेकपाले पार्टीको जिल्ला तह र जनवर्गीय संगठनमा रहेको एकीकरणसम्बन्धी विवादका विषयमा छलफल गर्न बुधबारका लागि पुनः सचिवालय बैठक बोलाएको छ।

आइतबार बसेको सचिवालय बैठकमा नेता बामदेव गौतम चुनाव लड्ने विषयमा छलफल केन्द्रित भएको थियो । बैठकमा नेता गौतमले काठमाडौ ७ बाट लड्ने भनिएको उपनिर्वाचनका विषयमा लामो छलफल भएको थियो । नेता गौतमले निर्वाचित प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरलाई राजिनामा गराएर निर्वाचन लड्ने निर्णय गरेका थिए।

पार्टीभित्र छलफल नै नगरी अध्यक्ष दाहाल र सांसद मानन्धरको मात्र सहमतिमा उपनिर्वाचन लड्ने निर्णयको विरुद्धमा नेकपाभित्र पूर्व एमाले खेमा एकै ठाउँमा उभिएको थियो । जनस्तरबाट समेत गौतमको निर्णयप्रति व्यापक आलोचना भएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेका थिए । आइतबारको बैठकले सांसद मानन्धरले पार्टीमा प्रस्तुत राजीनामा अस्वीकृत गरेको थियो । बैठकले मानन्धरले राजीनामा दिनुनपर्ने निर्णय गरेको थियो।

प्रतिनिधि सभा निर्वाचन २०७४ मा बर्दिया १ बाट पराजित नेता गौतमले कयौं प्रयासपछि काठमाडौं ७ का जनप्रतिनिधिलाई राजीनामाका लागि सहमत गराएका थिए । नेता गौतम चुनाव लड्ने विषयमा विवाद चुलिएपछि असोज २४ गते बस्ने भनिएको नेकपाको सचिवालय बैठक कात्तिक ४ गतेका लागि सरेको थियो।

नेकपाले यही असोज १२ र १३ गते स्थायी समिति बैठक बोलाउने निर्णय समेत गरेको छ । दुई पार्टीबीच एकीकरण भएको चार महिना बितिसक्दा पनि नेकपाले हालसम्म स्थायी समिति बैठक बोलाएको छैन । विगतमा दुई पटकसम्म बस्ने भनिएको स्थायी समिति बैठक पार्टीको तल्लो तहको एकीकरणसम्बन्धी विवाद लम्बिदै जाँदा सरेर अनिश्चित भएको थियो।

प्रकाशित: ६ कार्तिक २०७५ ०२:२४ मंगलबार

नेकपा_बैठक माधवकुमार_नेपाल