राजनीति

संघीय सरकारबाटै संघीयतालाई खतरा : मुख्यमन्त्री राउत

बारा- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट नै संघीयतालाई खतरा भएको आरोप लगाएका छन्।

बिभिन्न कार्यक्रममा सहभागी हुने सोमबार कलैया आएका मुख्यमन्त्री राउतले पत्रकारहरुसँग कुरा गर्दै संघीय सरकारले प्रदेश सरकारलाई बिफल पार्नको लागि नियम अनुसार गर्नुपर्ने कार्य समेत गर्न नदिएर संघीयतालाई नै समाप्त गर्न खेल गरेको बताए।

देशबाट संघीयतालाई समाप्त पार्नको लागि प्रदेश सरकारका कतिपय कार्यहरुमा संघीय सरकारले अवरोध गर्ने कार्य समेत शुरु गरेको उनले बताए।

प्रदेश सरकारले प्रहरी ऐन समेत सदनबाट पारित गराई सके पनि संघीय सरकारको असहयोगका कारण प्रहरी ऐन कार्यान्वयनमा गर्नमा आफूहरुलाई कठिनाई भैइरहेको उनले बताए।

कर्मचारी अभाव देखाउने र एक पटक सरुवा गरेको कर्मचारीलाई महिना पिच्छे सरुवाका गर्ने संघीय सरकारको मनोमानीले  चाहे जति काम प्रदेश सरकारले गर्न नसकेको उनकाे भनार्इ छ।

कानुन निर्माण गरी विकास निर्माण सँगै अन्य कार्यहरु गर्न प्रदेश सरकारको सोच रहे पनि संघीय सरकारको असहयोगले प्रदेश सरकारले गर्न खोजेका कार्यहरु गर्न नसकेको मुख्यमन्त्री राउतले गुनासाे गरे।

समाज रुपान्तरका लागि प्रदेश सरकार अघि बढिरहेको भन्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, सडक बिस्तारका काममा लागि परेको उनले बताए।

संविधान संशोधन मधेसी जनताको लागि मात्र नभई सिमान्तकृत बर्ग, समुदाय, दलित, जनजाती र मुस्लिमका लागि अपरिहार्य रहेकोले संबिधान संशोधन गर्नमा संघीय सरकारले आलटाल गर्न नहुने उनले बताए।

जनताको जनआन्दोलबाट आएका उपलब्धिहरुलाई केपी ओली नेतृत्वको सरकारले संस्थागत गर्न नसकेको उनले आरोप लगाए।

बर्तमान सरकार भ्रष्टचार निर्मुल गर्न नसकेको, शान्ति सुव्यवस्था कायम गर्न नसकेको, हत्या, हिंसा, बल्तकार जस्ता घटनाहरुलाई निस्तेज गर्न नसकेकोले नेपाली जनताहरु दिक्क भएको उनकाे टिप्पणी छ।

वाक स्वतन्त्रासँगै, प्रेस स्वतन्त्रालाई पनि ठाडो हस्तक्षेप संघयी सरकारले गर्नु प्रजातन्त्रलाई कमजोर पार्न खेल शुरु भएको र यसको बिरुद्धमा सबैले मिली अवाज उठाउन जरुरी रहेकोमा उनले जाेड दिए।

 

प्रकाशित: ५ कार्तिक २०७५ १६:०० सोमबार

लालबाबु_राउत प्रदेश_नम्बर_२ संघीय_सरकार