राजनीति

न्यायिक समितिमा मुद्दा बढे

हुम्ला – हुम्लाका सातवटा गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिकाले उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिबाट मुद्दा किनारा लगाउन थालेको छ । आर्थिक वर्ष २०७५–७६ को तीन महिनायता १३ मध्ये पाँचवटा मुद्दा फर्स्याैट गरेको छ । न्यायका लागि स्थानीय तहसम्म आइपुग्ने गरेका अधिकांश मुद्दा न्यायिक समतिले नै टुंग्याउने तयारी गरेको न्यायिक समितिका संयोजक एवं खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमालले जानकारी दिइन्।

जसमा गालीबेइज्जती, चौपाया तथा हराएको सामान पाएको, सम्बन्धविच्छेद, कुलो, पानी पधेँरो, चौपायाले ढुंगा खसाली चौपाया मारेको, साँध, आली धुर, लेनदेनजस्ता मुद्दा परेको गाउँपालिका उपाध्यक्ष हमालले बताइन् । उपाध्यक्ष हमालको संयोजकत्वमा बसेको न्यायिक समितिले पक्षविपक्षको सहभागितामा छलफल गरी सहमतिमा ल्याएर मुद्दा फस्र्र्योट गर्ने गरेको छ।

गाउँपालिकाले काम थालेको आठ महिनामा समितिमा १३ वटा मुद्दा आएको र अधिकांश मुद्दा सहमतिबाट नै किनारा लगाइएको छ । प्रक्रियामा आएका जटिल तथा कार्यक्षेत्रभन्दा बाहिरका मुद्दा मात्रै माथिल्लो न्यायिक तहमा पठाउने गरेको उनले बताइन् । हमालका अनुसार न्यायिक प्रक्रियामा नआएका धेरै मुद्दामा दैनिक रूपमा मेलमिलाप तथा न्यायका लागि उनलाई बोलाउने गरिएको छ।

ग्रामीण क्षेत्रबाट जिल्लाको न्यायिक निकायसम्म पुग्न गाह्रो हुने र गाउँघरमा हुने गरेका ससाना घटनाका विषयमा जिल्लामा पटकपटक जानुपर्ने बाध्यताबाट खार्पुनाथ गाउँपालिकाका स्थानीयलाई छुटकारा मिलेको छ । धेरैजसो उजुरी अहिले जिल्ला प्रहरी कार्यालय हुम्लामा नभई स्थानीय तहमा रहेको न्यायिक समितिको कार्यालयमा पुग्ने गरेका छन्।  (रासस)

प्रकाशित: ३० आश्विन २०७५ ००:४६ मंगलबार

हुम्ला न्यायिक_समिति मुद्दा