राजनीति

सरकार असफल बनाउन षड्यन्त्रः दाहाल

फाइल तस्बिर

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। 

नेकपा ललितपुरले दसैँ, तिहार तथा छठका उपलक्ष्यमा शुभकामना दिन आज आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको दाबी गरेका थिए।

उनले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको जानकारी गराए । दाहालले सरकारको कामहरुको बचाउ गर्दै काठमाडौँको सबै बाटा केही महीनामा कालोपत्रे भइसक्ने र यसका लागि सरकार लागि रहेको बताउका थिए। 

दाहालले नेपाल र भारतबीच बाटो र बाँधको समस्या रहेको भन्दै ती समस्या पनि समाधान हुने दाबी गरेका थिए। ‘समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि संबन्धित स्थानमै गएर काम गर्ने समझदारी भएको छ,’ उनले भने। नेकपा केन्द्रीय सदस्य सुशीला नेपालले नेपालको विकासका लागि कम्युनिष्ट पार्टी सफल हुनुपर्ने धारणा राखेकी थिइन्। नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले सजग हुनुपर्ने बताए।

 

प्रकाशित: २६ आश्विन २०७५ १२:५३ शुक्रबार

पुष्पकमल_दाहाल सरकार असफल षड्यन्त्र