राजनीति

कर्णाली प्रदेश : सूचना टाँसेर बैठक स्थगित

फाइल तस्बिर

सुर्खेत - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना मागहरु पूरा नभएको भन्दै संसद बैठक अवरुद्ध गर्ने संकेत गरेपछि बुधबारका लागि तय गरिएको संसद बैठक शुक्रबारका लागि स्थगित गरिएको छ। कांग्रेसले बजेट सार्वजनिक भएको चार महिना वित्न लाग्दा पनि रातो किताव उपलब्ध नगराएको, संसद स्थगित भएको दुई महिनासम्म एउटा पनि विधेयक दर्ता नगराएको भन्दै मंगलबार संसद बैठक अवरुद्ध गरेको थियो। कांग्रेसको विरोधका कारण संसद सचिवालयले बुधबार दिउँसो एक बजेका लागि बैठक आव्हान गरेको थियो। कांग्रेसका मागका विषयमा छलफल गर्न सभामुख राजबहादुर शाहीले कार्य व्यवस्था परामर्श समितिको बैठक आव्हान गरेका थिए। बैठक टुङ्गोमा पुग्न नसकेपछि शुक्रबार सम्मका लागि संसद बैठक स्थगित गरिएको सभामुख शाहीले बताए। 

‘प्रमुख प्रतिपक्षी दलले रातो किताव उपलब्ध गराउनुपर्ने र मन्त्री र संसदहरुको सेवा–सुविधाको लिखित रुपमै टुङ्गोमा पुग्नुपर्ने अडान राख्यो’ समितिका सदस्य गुलावजंग शाहले भने, ‘तत्कालै रातो किताव छापेर उपलब्ध गराउन नसकिने सरकारले जवाफ दिएपछि निर्णयमा पुग्न सकिएन्।’ कांग्रेसले यसअघि सरकारसँग भएका पटक–पटकका मौखिक सहमति कार्यान्वयन नभएको भन्दै मागहरु लिखित रुपमै सम्बोधन हुनुपर्ने अडान राख्दै आएको छ।

 

प्रकाशित: २४ आश्विन २०७५ १३:४७ बुधबार

कर्णाली_प्रदेश