राजनीति

८ महिनामै सम्झनलायक काम गर्‍यौं, ५ वर्षभित्र नसोचेको विकास देखाउँछौं : महासेठ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारको ८ महिने कार्यकालमा सम्झनलायक काम भएको दाबी गरेका छन्। 

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले गठन भएको ८ महिनामा इतिहासमै सम्झना हुने कामहरु भएको जिकिर गरे। उनले भने, ‘हाम्रो सरकार गठन हुनुपुर्व मुलुकमा एकात्मक शासन प्रणाली थियो। तर, हामी आएपछि संघात्मक प्रणालीमा प्रवेश गरेको छ। स्थानीय, प्रादेशिक र संघीय सरकारलाई आवश्यक कानुनहरु बनाउने काम हामीले गर्यौं। हामीले घोषणापत्रमार्फत अघि सारेका सबै कार्यक्रमहरु पूरा गर्छौं। तर, यसको लागि केही समय लाग्छ।’

अबको पाँच वर्षभित्र वर्तमान सरकारले कसैले नसोचेको प्रगति र विकास गरेर देखाउने उनको दाबी छ। ‘जनतासामू गरेका सबै प्रतिबद्धताहरु हामी पूरा गरेर छाड्छौं। आउने दश वर्षभित्र त नेपाल कहाँबाट कहाँ पुग्छ? कसैले कल्पना पनि गर्न सक्दैन्’, मन्त्री महासेठले भने।  

मित्रराष्ट्र चीनको आर्थिक समृद्धिको उदाहरण पेश गर्दै मन्त्री महासेठले भने, ‘चीनलाई पनि अहिलेको यो अवस्थामा आइपुग्न ४२/४३ वर्ष लाग्यो । साईप्रसलाई पनि अहिलेको अवस्थामा आइपुग्न ३५ देखि ४० वर्षसम्म लाग्यो। मलेसियालाई त्यस्तै १८ देखि २० वर्षसम्म लाग्यो। हामीले पनि घोषणापत्रमा उल्लेख गरेका कुराहरु ५ वर्षभित्र पूरा गरेर देखाउँछौं। अहिले ६ महिनाभित्रै सबै पूरा हुने कुरा होइन्। केही समय लाग्छ।’

उनले विकासको दृष्टिकोणमा आफूहरुले धेरै नयाँ–नयाँ योजनाहरु ल्याएको पनि दाबी गरे। महासेठले भने, ‘विकासको काममा हामीले धेरै फड्को मारेका छौं। १२ सय किलोमिटरको मदन भण्डारी राजमार्गको काम हामीले सुरु गरिसकेका छौं। अहिलेसम्म २२ वर्षदेखि बनाउन नसकेको हुलाकी राजमार्ग यो तीन वर्षभित्रमा हामी पूर्ण रुपमा सम्पन्न गर्न गैरहेका छौं। म यही मञ्चबाट मिडियामार्फत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई भन्न चाहन्छु की आगामी चुनावमा तपाईहरुले यही बाटो हिँडेर भोट चाहीँ माग्न सक्नुहुन्छ।’

त्यस्तै महेन्द्र राजमार्ग बनेदेखि अहिलेसम्म जस्ताको त्यस्तै अवस्थामा रहेपनि आफूहरु आएपछि चार लेन बनाउने काम भैरहेको उनले जनाए। महासेठले थपे, ‘अहिले धमाधम काम भैरहेको छ। महेन्द्र राजमार्गलाई मेची–महाकालीसम्म चार लेन बनाउनेगरि काम सुरु गरिसकेका छौं। बुटवलबाट काम सुरु भैसकेको छ। अब कमलाबाट पनि सुरु गर्न गैरहेका छौं। र आगामी चुनावसम्म यो राजमार्ग चार लेन बन्छ। म दाबाका साथ भन्छु।’

उनले मदन भण्डारी राजमार्ग (झापाको बाहुनडाँगीदेखि लिएर शान्तिनगर हुँदै डढेलधुराको रुपायलसम्म) आफूहरुले नयाँ योजना ल्याएको पनि सुनाए। उनले भने, ‘करिब–करिब त्यो कामपनि अगाडि बढिसकेको छ । देशमा राजमार्गसँगको दायाँ–बायाँ दक्षिण र उत्तर ६ लेनहरु आगामी १८ महिनाभित्र हामी पूरा गर्न गैरहेका छौं।’ त्यस्तै उनले रेलमार्गको सम्बन्धमा प्रि–फिजिविलटीको कामहरु सम्पन्न भैसकेको उल्लेख गर्दै अब डिपिआर बनाउने चरणमा पुगेको बताए। 

मन्त्री महासेठले भने, ‘बर्दिवासदेखि काँकडभिट्टा हामी निकट भविष्यमा नै सम्झौता गर्न गैरहेका छौं। २४६ किलोमिटर फाष्ट ट्रेनको रुपमा यसलाई विकास गरेर हामीले निकट भविष्यमा एग्रिमेन्ट गर्न गैरहेका छौं। त्यस्तै जयनगर–जनकपुर–बिजलपुरा–बर्दिवास यही डिसेम्बरबाट सकभर सञ्चालन गर्न हामी गैरहेका छौं।’ 

काठमाडौंदेखि केरुङसम्मको प्रि–फिजिवीलिटी सम्पन्न भैसकेको जनाउँदै अब डिपिआर बनाउन थालिसकेको पनि उनले जानकारी दिए। मन्त्री महासेठले भने, ‘त्यस्तै भारतसँग सहमति भए अनुसार विरगंज–काठमाडौं रेलमार्गको प्रि–फिजिविलीटी सम्पन्न भैसकेको छ। अब छिट्टै डिपिआर बनाउन लागिसकेका छौं। यो छोटो अवधिमा पनि हामीले यी नयाँ–नयाँ कामहरु गरेर ल्याएका छौं।’

प्रकाशित: २४ आश्विन २०७५ १०:२० बुधबार

रघुवीर_महासेठ सरकार विकास