राजनीति

ओली सरकार सुस्त भयो, अब गियर परिवर्तन गर्नुपर्छ : रायमाझी

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सरकारको काममा सुस्तता आएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अब ‘गियर’ बदल्नुपर्नेमा जोड दिँदै नेकपाका स्थायी समिति सदस्य रायमाझीले भने, ‘अहिले सरकारको काम अलि सुस्त देखिएको छ। गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ।’

मालारानी शैक्षिक तथा धार्मिक महोसत्वबारे जानकारी दिन रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रायमाझीले सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने बताए।

मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको भन्दै उनले दुई तिहाईको सरकारले समृद्धि नेपाल बनाएरै छाड्ने विश्वास व्यक्त गरे।

जुन गतिमा सरकारले कामहरु सम्पादन गरेर, योजना बनाएर अघि बढ्नुपर्ने हो त्यो नदेखिएको भन्दै उनले महंगीदेखि भ्रष्टाचार सम्मका विकृति, विसंगती र कमीकमजोरीलाई हटाएर राष्ट्र र जनताको समृद्धिको काममा, जनताको सेवामा तिव्र रुपमा अगाडि बढ्नुपर्ने सुझाव दिए।

‘अब सरकारले अलिकति पिकअप, गियर बढाउनुपर्छ’, उनले भने, ‘सरकारले अब गियर चेन्ज गरेर तीव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागि पर्नको लागि म आग्रह गर्दछु।’

नेता रायमाझीले अर्घाखाँचीको मालारानी–४ श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि सुरु भएको मालारानी शैक्षिक तथा धार्मिक महोसत्वको सफलताको कामना समेत गरे।

प्रकाशित: २४ आश्विन २०७५ ०५:३३ बुधबार

ओली_सरकार नेकपा टोपबहादुर_रायमाझी