राजनीति

विचाराधीन मुद्दामा लेख्दा क्षति : प्रधानन्यायाधीश मिश्र

काठमाडौं – प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा विचाराधीन मुद्दामा सञ्चार माध्यमले लेखेका कारण क्षति भैरहेको बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले सर्वोच्च अदालतमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा चलिरहेको विषयमा मिडियाले लेख्दा न्यायमा क्षति पुगेको बताएका हुन्।

‘मिडियाले विचाराधीन मुद्दामा लेखिरहँदा क्षति पुगेको छ,’ प्रधानन्यायाधीश मिश्रले भने, ‘सबैभन्दा बढी अदालतलाई क्षति पुराइराखेको छ ।’ मिडियाले फैसला नभइसकेको मुद्दामा लेखेका कारण असर परेको बताएका हुन् । ‘मिडियाले विचाराधीन मुद्दामा लेखिदिँदा मानवअधिकारलाई क्षति पुर्याइरहेको छ । न्यायमा क्षति पुगेको छ ।’ उनले थपे, ‘त्यो कुरा हुन दिन हुँदैन भन्ने म यसै माध्यमबाट आह्वान गर्दछु।’

मिडियालाई अदालतबाट फैसला नभइसकेका मुद्दामा नलेख्नसमेत आग्रह गरे । जुन अदालतबाट अन्तिम निर्णय भैनसकेका मुद्दालाई प्राथमिकतामा राखी नलेख्न आग्रह गरे । ‘बढी हामीलाई अप्ठेरो पर्ने गरेको छ’ उनले भने । सबैभन्दा बढी चेतनशील सञ्चारमाध्यम भएकाले ध्यान दिन आग्रह गरे।

न्यायलय सुधार्न विभिन्न विज्ञहरुको सुझाव समेत संकलन गरिरहेको प्रधानन्यायाधीश मिश्रले बताए । सुधारको ठाउँ नरहे संस्था रहन नसक्ने बताउँदै सुधारमा सबैको प्रयास र सुझाव मागिरकेको बताए । ‘हामीले संस्था जोगाउनुछ । सुधार गरिरहेका छौं ।’ वर्तमान, भूतपूर्व महान्यायाधीवक्ताको समेत सुझाव मागिरहेको उनले बताए।

कार्यक्रममा संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष लिलाधर आचार्यले न्यायपालिकाको सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । मञ्चले विजयादशमी, दीपावली, छठ पर्व, नेपाल सम्वत्को अवसरमा शुभकामना आदानप्रदान गरेको थियो।

प्रकाशित: २४ आश्विन २०७५ ०१:२२ बुधबार

प्रधानन्यायाधीश अदालत विचाराधीन_मुद्दा