राजनीति

विचाराधिन मुद्दाकाे समाचार सम्प्रेषणले न्याय सम्पादनमा असर गर्छ : प्रन्या मिश्र

काठमाडौं– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा विचाराधिन मुद्दामा समाचार लेख्दा न्याय सम्पादनमा नै असर पर्नेतर्फ सचेत रहन आग्रह गरेका छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश मिश्रले विचाराधिन अवस्थाका मुद्दाको समाचार सम्प्रेषणले न्याय सम्पादनसँगै मानव अधिकारलाई समेत असर गर्ने बताए। 

प्रधानन्यायाधीश मिश्रले न्यायपालिकाभित्र सुधारको खाँचो रहेको भएपनि न्यायपालिकाको एक्लो प्रयासले सम्भव नहुने धारणा राखे। उनले कानुन व्यवसायी समेतलाई बाहिर गलत कुरा गर्न भन्दा सुधार गर्नुपर्ने बिषयमा खुलस्त विषय प्रस्तुत गर्न आग्रह गरे। 

कार्यक्रममा संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष लिलाधर उपाध्यायले न्यायपालिकाको सुधार गर्नुपर्ने अवस्था रहेको बताए। 

यसैबीच आजै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागिय कार्य समिति सर्वोच्च अदालतले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानन्यायाधीश मिश्रले सामूहिक प्रयासले मात्रै न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउने उद्देश्य प्राप्त गर्न सकिने बताए। न्यायपालिकाभित्र कर्मचारी र न्यायाधीश एउटै रथका यात्री भएकाले एकको अभावमा लक्ष्य हाँसिल गर्न नसकिने बताए। 

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश पराजुलीले सेवाग्राहीको हीतलाई ध्यानमा राखेर न्याय सेवा प्रबाह हुनुपर्नेमा त्यसर्फ उन्मुख हुन नसकिएको बताए। कर्मचारी र नेतृत्ववीच हिलो छ्यापाछ्यापले समस्या नसुल्झने उनको भनाई छ। 

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष दलबहादुर बजिमय र सचिव हरि भट्टराईले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कर्मचारीको भूमिका अझै सुदृढ हुने बताए। 

प्रकाशित: २३ आश्विन २०७५ ११:१० मंगलबार

प्रधानन्यायाधीश अदालत समाचार