राजनीति

नेकपा संसदीय दलको बैठकमा प्रदेश ३ को राजधानीबारे छलफल

मकवानपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर ३ संसदीय दलको बैठकमा राजधानी बारे छलफल भएको छ। आइतबार  हेटौंडामा बसेको बैठकमा स्थायी राजधानीको विषयले समेत प्रवेश पाएको हो।

प्रदेन संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले भोली(सोमबार) बस्ने प्रदेश सभा बैठकमा स्थान पाउने बताए। स्थायी राजधानीको विषयमा सबैको चासो रहेको भन्दै उनले यसबारेमा गम्भीर छलफल गरी निष्कर्षमा पुर्‍याउनु पर्नेमा जोड दिए।

‘सबै प्रदेश सांसद र प्रदेशका जनताको चाहना स्थायी राजधानीको विषय चाँडै टुङ्गीयोस् भन्ने छ,’ उनले भने, ‘यो विषयले आज या भोली संसदमा प्रवेश पाउनेछ।’ तर नेकपाका एक सांसदले भने ह्वीप नलाग्ने भएकाले स्थायी राजधानीबारेको छलफलको खासै औचित्य नभएको दाबी गरे।

केहीदिन अघि आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बहुमत सांसद राजधानी हेटौंडाबाट अन्त्रय सार्ने पक्षमा रहेको बताएका थिए। प्रदेश नम्बर ३ को प्रदेश सभाबाट गठित प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो। तर प्रदेश सभाको बैठकमा छलफलमा नल्याईएको भन्दै सांसदहरुले आक्रोश पोख्दै आएका छन्। समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको थियो।

उच्च अदालत ईजालस हेटौंडामा हेटौंडाका अधिवक्ता धुब्रप्रसाद चैलागाईले असार २८ गते ३ नम्बर प्रदेश सरकार, मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख बिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँ लगायतलाई विपक्षी बनाई मुद्दा दायर गरेपछि थप अन्यौल छाएको थियो। नेपालको संविधानको धारा १ सय ९१ अनुसार प्रदेश सभामा प्रदेश राजधानीबारे बहसमा समेत कानूनी रुपमा बन्देज लागेको थियो। संविधानको उक्त धारामा ‘नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा प्रदेश सभामा कुनै छलफल गरिने छैन’ उल्लेख छ। तर १५ दिनभित्र जवाफ दिन अदालतको निर्देशनअनुसार मुख्यमन्त्री पौडेल, प्रमुख बिपक्षी दलका नेता बानियाँ लगायतले उक्त बिषय प्रदेश सभाको भएको जिकिर गर्दै लिखित जवाफ पेश गरीसकेका छन्।

नेकपा संसदीय दलको बैठकका नेकपा ३ नम्बर प्रदेश संसदीय दलको प्रस्तावित विधान, संसदीय समितिका सभापतिहरुको प्रतिवेदन, प्रदेश मन्त्रीहरुद्वारा मन्त्रालयको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। बैठकमा सत्तारुढ नेकपा प्रदेशका सांसदहरुले विधान, प्रतिबेदनहरुसँगै पार्टीको लेबी र स्थायी राजधानीका विषयमा समेत धारणा प्रस्तुत गरेका थिए।

यसैबिच, भोली(सोमबार) बस्ने प्रदेश सभा बैठकमा राजधानीबारे छलफल हुने प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले पुष्टी गरे। आईतबार बस्ने बैठकमा भने बिशेष समयमा पार्टीगत प्रतिनिधि सांसदले धारणा राख्ने र विभिन्न ५ बिधेयकलाई कार्यसूचीमा राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

नेपालको संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्ने उल्लेख छ। निर्णय नभएसम्म सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्यालय सञ्चालन हुने उल्लेख छ।

प्रकाशित: २१ आश्विन २०७५ ०७:४४ आइतबार

नेकपा राजधानी प्रदेश_३