राजनीति

सुन तस्करीमा मुछिएका एसएसपी लोहनीसहित ३ अधिकारीको निलम्बन फुकुवा

काठमाडौं– ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवस लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा गरिएको छ। 

सुन तस्करीमा सघाएको भन्दै गृह मन्त्रालयद्वारा सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित छानविन समितिको अनुसन्धानका क्रममा निलम्बनमा परेका महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख लोहनी र मकवानपुरका प्रहरी प्रमुख खनालको निलम्बनलाई गृहसचिव प्रेम राईले फुकुवा गरेको स्रोतले जानकारी दिएको छ। 

सुन तस्करी प्रकरणको छानविनका क्रममा नियन्त्रणमा समेत परेका लोहनी र खनाललाई उच्च अदालत विराटनगरले केही दिनअघि साधारण तारेखमा रिहा गरेको थियो। 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार सुनकाण्डमा मुछिएका अपराध महाशाखाका डीएसपी प्रजित केसीको निलम्बन फुकुवाको प्रक्रिया समेत सुरु भएको छ। यद्यपी फुकुवा भने भइसकेको छैन्।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले भने निलम्बन फुकुवाको पत्र गृहबाट आइनसकेको बताए। ‘गृहबाट पत्र आएपछि उहाँहरु जिम्मेवारीमा फर्किनुहुन्छ’, उनले भने।  

प्रकाशित: १७ आश्विन २०७५ १३:०५ बुधबार

सुन_तस्करी दिवस_लोहनी विकासराज_खनाल निलम्बन_फुकुवा