राजनीति

चीन जानुअघि नेपाललाई सिंगापुरबाट दाहालको फोन, कुरा मिल्यो?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन्। 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अमेरिका र अर्का अध्यक्ष पुष्पकमल दाहाल सिंगापुरमा रहेका बेला सरकार र पार्टी नेतृत्वको आलोचना गरेर चर्चामा रहेका नेकपाको तेस्रो वरियताका नेता नेपाल सोमवार दिउँसो चाइना एयरको विमानमार्फत चीन प्रस्थान गरेका हुन्।

चीन जानुअघि नेता नेपाल र अध्यक्ष दाहालबीच टेलिफोन वार्ता भएको थियो। वार्तामा नेता नेपालले पछिल्लो समय सार्वजनिक रुपमै पोखेको असन्तुष्टि र त्यसको समाधानबारे छलफल भएको स्रोतले जनाएको छ। ‘नेता नेपाल र अध्यक्ष दाहालबीच स्थायी कमिटीबाट असन्तुष्टि सम्बोधन गर्ने सहमति भएको छ’, नेपाल निकट एक नेताले नागरिकसँग भने, ‘दाहालसँगको कुराकानीपछि उहाँ (नेपाल) आश्वस्त भएर चीन प्रस्थान गर्नुभयो।’

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बाहिर रहेका बेला नेता नेपालले संसदमै सरकारको कडा आलोचना गरेका थिए भने स्थायी कमिटी बैठक बोलाएर प्रदेश पदाधिकारी चयनमा पनि असन्तुष्टि जनाएका थिए। जसका कारण नेकपामा ओली र नेपाल समूहका नेताबीच आरोप प्रत्यारोप भइरहेको छ।

प्रकाशित: १५ आश्विन २०७५ ०८:५१ सोमबार

नेकपा माधवकुमार_नेपाल पुष्पकमल_दाहाल