राजनीति

दशैंतिहार सुरक्षा योजना : तीन हजार प्रहरी, नाकामा कुकुरसहित चेकजाँच

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंतिहार सुरक्षा योजना सार्वजनिक गरेको छ। सुरक्षा योजनामा साढे तीन हजार प्रहरी परिचालन गर्नेदेखि काठमाडौं छिर्ने नाकामा कुकुरसहित चेकजाँच गर्ने सम्मको तयारी छ। 

प्रहरी परिसरले आइतबार टेकुस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी नेपालीको महान् चाड दशैं, तिहार र छठमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित सुरक्षा योजना सार्वजनिक गरेको हो।

चाडपर्वको अवसरमा हुन सक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अबैध मदिरा बिक्री बितरण, तस्करी, ट्राफिक दुर्घटना, महिला हिंसा लगायतका आपराधिक क्रियाकलापहरु नियन्त्रणमा राख्न सादा पोशाकमा समेत गरी कुल ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको उक्त अवसरमा जानकारी गराइयो।  

सर्वसाधारणको घर सम्पत्ती रहेको स्थान, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर, गुम्बा रहेको स्थान, बित्तीय संस्था एवं आर्थिक कारोबार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार हुने स्थान, सरकारी कार्यालय तथा अन्य सरकारी सम्पत्ती रहेका स्थान, काठमाडौं प्रवेश गर्ने नाकाहरु, होटेल, गेष्ट हाउस तथा रेष्टुरेन्ट, अपराधिक गतिबिधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती तथा बिशिष्ट ब्यक्तिको गतिविधि हुने स्थानमा सुरक्षाकर्मीहरु परिचालन हुने परिसर प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।

जनमानसमा सुरक्षकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनीकरण गर्दै अपराधीलाई कारवाहीको दायरामा ल्याउने तथा प्राप्त साधन स्रोतको दुरुस्त तथा प्रभावकारी परिचालन गर्ने उद्देश्य रहेको उनले स्पष्ट पारे।

प्रकाशित: १४ आश्विन २०७५ ११:५३ आइतबार

दशैंतिहार सुरक्षा_योजना महानगरीय_प्रहरी_परिसर