राजनीति

डा केसीद्वारा शिक्षामन्त्रीको राजीनामा माग, पुन: अनशन बस्ने चेतावनी

काठमाडौं– चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणी पोखरेलको राजीनामा माग गरेका छन्। उनले चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा विरोध जनाउँदै पुनः अनशन बस्ने चेतावनी समेत दिएका छन्।

चिकित्सा शिक्षा विधेयक पारित नगरेरै संघीय संसदको दोस्रो अधिवेशन अन्त्य भएपछि शुक्रबार पत्रकार सम्मेलन गरेर डा. केसीले मन्त्री पोखरेलको राजीनामा मागेका हुन्। आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गरेर ल्याउनुपर्ने जिम्मेवारीमा रहेका विभागीय मन्त्री पोखरेलले उल्टै अवरोध गरेको केसीको आरोप छ।

‘गत साउन २६ मा प्रधानमन्त्री ओलीले सम्झौता बमोजिम नै विधेयक पारित गर्ने र सम्झौताका सम्पूर्ण बुँदाहरू कार्यान्वयन गर्ने  विश्वास दिलाउनु भएको थियो। अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ’, केसीले भनेका छन्।

सरकार समयमै नसच्चिए पुनः अनशन बस्ने उनको चेतावनी छ। ‘हामीसँग भएका सबै सम्झौता तत्काल कार्यान्वयन नभए नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेहरूलाई जबाफदेही बनाउन बिना जानकारी १६ औँ सत्याग्रह सुरु गर्न बाध्य हुनेछु। म १६ औं अनशन पूर्वजानकारी विना जुनसुकै बेला जहाँ पनि बस्न सक्छु’, उनले चेतावनी दिँदै भनेका छन्। 

प्रकाशित: १२ आश्विन २०७५ ०९:५३ शुक्रबार

डा._गोविन्द_केसी चिकित्सा_शिक्षा_विधेयक