राजनीति

सरकारविरुद्ध संसदमा पहिलोपटक खनिए माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले सरकारको कडा आलोचना गरेका छन्। 

प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद नेपालले सरकारले जनता चाहनाअनुसार काम नगरेको भन्दै आलोचना गरे। उनले देश डुब्न लागेको भन्दै मन्त्री, सरकार र राज्यका सबै निकायको ध्यानाकर्षण गराए। जनताको आलोचना र आक्रोशलाई सुझावका रुपमा लिन सरकारलाई आग्रह समेत गरे। 

‘जनताले के भन्छन भन्ने कुरा प्रतिवाद गर्नका लागि होइन, जवाफ दिनका लागि होइन, रियलाइज गर्ने, कहाँ रह्यो त्रुटी खोज्ने, कहाँ छन् समस्या पत्तो लगाउने र समाधान गर्ने संकल्प, आँट गर्नुस’, उनले भने, ‘राम्रो काम गर्नुस, नेकपाको मात्र होइन सम्पूर्ण संसद र जनताको समर्थन रहनेछ।’ 

संसदमा माधव नेपालको सम्बोधन

संसदको यो अधिवेशनमा रोस्टममा उभिएर पहिलोपटक बोल्दा मैले केही समयअघि भनेको अभिव्यक्तिलाई सम्झिरहेको छु।  

‘मेरो देश डुब्नै लाग्यो किनारा लगाई देउ
माझी छौं कि कोही किनारा लगाइदेउ
देश डुब्न लाग्यो देशै बचाइदेउ’ 

देशभर बढिरहेको घटनाप्रति सबैको ध्यानाकर्षण भएको छ। प्रश्न उठिरहेको कञ्चनपुरबाट, निर्मला पन्तबाट, रौतहटको चन्द्रपुरबाट जहाँ एसिडले एउटा नानीको मृत्यु भएको छ। यस्तै यस्तै बलात्कारका मृत्यु बलात्कारका घटनाले।

भ्रष्टाचार व्याप्त छ, रोक्ने कुनै अंग छ कि छैन्, कोही अहिलेसम्म गिरफ्तार भएका छन कि छैनन्? मुद्दा चलिरहेको छ कि छैन, मान्छे हेर्न चाहन्छ काम, परिणाम। परिणाम दिइसकेपछि बल्ल हाम्रो शिर ठाडो हुनेथियो। यो कानले सुन्नुपर्ने थिएन कि जुन जोगी आएपनि कानै चिरेका। यो स्थितीलाई कसरी परिवर्तन गर्ने? 

म मन्त्री, सरकार र राज्यका सबै निकायको ध्यानाकर्षण गराउँदछु। दुनियाँले भ्रष्टाचारी भनेर औला ठड्याएको व्यक्ति पुरस्कृत भइरहेको भन्दै उनले यो कहिले बन्द हुन्छ, रोकिन्छ?

बैठकमा सांसदले धेरै कुरा उठाएका छन्। बसमा यात्रा गर्नेलाई कस्तो होला, पदैल हिड्ने, कुनै पसलमा पुग्दा के सोच्ला। 

त्यसकारण जनताले के भन्छन भन्ने कुरा प्रतिवाद गर्नका लागि होइन, जवाफ दिनका लागि होइन, रियलाइज गर्ने, कहाँ रह्यो त्रुटी खोज्ने, कहाँ छन् समस्या पत्तो लगाउने र समाधान गर्ने संकल्प, आँट। राम्रो काम गर्नुस मलाई लाग्छ नेकपाको मात्र होइन सम्पूर्ण संसद र जनताको समर्थन रहनेछ। 

नेपाललाई चाँहिएको छ भ्रष्टाचारमुक्त प्रशासन, छिटो छरितो काम, गुणस्तरहिन कामको अन्त्य, जनतलाई समस्याको समाधान चाँहिएको छ। जनताले सुरक्षा मागेका छन, सुरक्षाप्रति सम्वेदनशील भइदिनुपर्यो। 

राष्ट्रियतामाथि प्रश्न, भौगलिक अखण्डतामाथि खुलेयाम चुनौती दिने गरेको छ। गृहमन्त्री ज्यु कहाँ हुनुहुन्छ थाहा छैन्, गृह प्रशासन नामको चिज छ कि छैन थाहा छैन। खुलेयाम देश टुक्राउने अभिव्यक्ति दिनेलाई जोगाउने नेपालका विभिन्न निकायहरु छन्। ति निकायमा बस्ने व्यक्ति कस्ता होलान? जो राष्ट्रद्रोहीलाई पनि त्यतिकै छुट दिन्छन्। कुनै कडाई गर्दैनन्। तिनीहरुमा देशभक्तिको भावना, नेपालीको भावना देखिदैन। त्यसकारण राष्ट्रियता र जनजिविकासँग जोडिएका विषयलाई गम्भीर रुपमा लिनुपर्छ।  

म विभिन्न विधेयकहरु समयमै पारित गरेकोमा सरकार, संसद र प्रतिपक्षीलाई धन्यवाद दिन चाहन्छु।  

प्रकाशित: ११ आश्विन २०७५ ०८:४७ बिहीबार

नेकपा सरकार माधव_नेपाल