राजनीति

संसदीय दल कार्यालय अझै अलगअलग

काठमाडौं - दुई कम्युनिस्ट घटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनको महिनौं भइसक्दा पनि पार्टीको संसदीय दलको कार्यालय भने अहिले पनि एक हुन सकेको छैन। तत्कालीन एमाले संसदीय दलको कार्यालयमा अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली र दलका उपनेता सुवाष नेम्बाङको नेमप्लेट झुन्ड्याइएको छ भने दुई नेताको मात्र कार्यकक्षको व्यवस्था गरिएको छ । त्यस्तै तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक देव गुरुङको मात्रै कार्यकक्ष छुट्याइएको छ।

दुवै पूर्व दलका संसदीय दलका कार्यालयमा आउने सांसद तथा अन्य आगन्तुक पनि पूर्व पार्टीसँग सम्बन्धित नै हुनेगरेको पूर्व एमाले समर्थित नेकपाका एक सांसदले जानकारी दिए।

‘कार्यालय पनि छुट्टाछुट्टै छन् र सांसदहरूको आगमन पनि त्यहीअनुसार नै भइरहेको छ,’ उनले भने । पार्टी एक भए पनि भावनात्मक रूपमा अझै एक हुन नसकेका कारण एउटै पार्टीभित्र पनि दुईवटा दलकै जस्तो अवस्था रहेको र त्यो संसदीय दलको कार्यालयमा पनि देखिने ती सांसदको भनाइ छ । सांसदकै जस्तो अनुभव संसदीय दलको कार्यालयमा कार्यरत कर्मचारी र चमेना गृहका सञ्चालकहरूको छ । ‘अहिले पनि छुट्टाछुट्टै पार्टी हुँदाकै जस्तो अवस्था छ,’ एक कर्मचारीले भने।

‘दुई पार्टी एक भइसक्दा पनि यहाँ पुरानै दलका सांसद, उहाँहरूलाई भेट्न पनि त्यही पक्षका नेता तथा शुभेच्छुक मात्रै आउनुहुन्छ,’ चमेना गृहका कार्यरत एक कर्मचारीले भने । कार्यालयमा कार्यरत कर्मचारीले पनि त्यही कुरा दोहो-याए । ‘अर्काे पक्षका (पूर्व माओवादी केन्द्र) सांसद तथा नेताहरू अर्कै कार्यालयमा जानुहुन्छ होला (पूर्व माओवादी केन्द्रको सचिवालय बैठक रहेको भवन नम्बर २ देखाउँदै ) यतातिर पहिले आइरहने सांसद र नेताहरू मात्र आउनुहुन्छ,’ उनले भने।

नेकपाका संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्बाङ भने ठाउँ अभावले दुई पार्टीको कार्यालय एक हुन नसकेको बताउँछन् । ‘कुनै असमझदारीले होइन, संसदले पर्याप्त ठाउँ भएको भवन उपलब्ध गराउन नसक्दा कार्यालय एकैठाउँ बनाउन समस्या भएको हो,’ नेम्बाङले भने । नेकपाका सांसदहरूले राष्ट्रियसभाका सांसद बस्ने भवनको माग उनीहरूलाई राख्ने अर्काे ठाउँको व्यवस्था नहुँदा भवन उपलब्ध हुन नसकेको नेम्बाङको भनाइ छ।

‘उहाँहरू (राष्ट्रियसभाका सदस्यहरू) लाई हाम्रो कार्यालयमा ल्याउन पनि ठाउँको अभाव छ, उहाँहरू बसेको ठाउँ हामीले माग्दा पनि पाएका छैनौँ, त्यसैले कार्यालय दुईठाउँमै राख्नुपरेको हो,’ नेम्बाङले भने।

नेकपाले पार्टी एकीकरणलगत्तै पार्टीका केन्द्रीय कार्यालयलाई पनि समानान्तर प्रयोग हुँदा नेता कार्यकर्तामा अलमल भएको थियो । दुई पार्टी कार्यालय (धुम्बाराही र पेरिसडाँडा) लाई नै केन्द्रीय कार्यालयका रूपमा प्रयोग गर्दा नेता कार्यकर्ताहरू पूर्व पार्टीसँग सम्बधित कार्यालयमा मात्र जान थालेपछि हाल नेकपाले धुम्बाराहीस्थित कार्यालयलाई केन्द्रीय कार्यालय तोकेको छ भने पेरिसडाँडालाई जनवर्गीय संगठनको कार्यालयका रूपमा तोकेको छ । पहिले दुई केन्द्रीय कार्यालय हुँदाको जस्तो अवस्था अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा पनि देखिने गरेको नेकपाका सांसदहरू नै स्वीकार गर्छन्।

प्रकाशित: १० आश्विन २०७५ ०१:५४ बुधबार

नेकपा_एकीकरण संसदीय_दल