राजनीति

कर्मचारीलार्इ प्रदेश मन्त्रीले भने : केन्द्रको चाकरी नगर्नुस्

सिन्धुली– प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले सिन्धुलीको सुरक्षा व्यवस्था अनुसन्धान फितलो रहेको भन्दै असन्तुष्टि जनाएका छन्। प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिको सयुक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा सिन्धुली आएका मन्त्री जमकट्टेलले अनुसन्धान विश्वासिलो नभएको औंल्याए। 

कञ्चनपुर भएको भएको निर्मला पन्तको बलात्कार पछिको हत्या र त्यसमा अनुसन्धानमा फितलो भएका कारण राज्यले समेत लज्जित हुनुपरेको उदारण दिदै उनले निर्मला पन्तको हत्यामा समेत अनुसन्धान फितलो देखिएको आरोप लगाए। ‘निर्मलाको हत्यारा पत्ता लगाउन नसक्दा कहि कतै गएर राज्यले फेस गर्न सक्ने अवस्था छैन, एक/दुई जनाको गडबढीले राज्य यतिबेला लज्जित छ’, उनले भने। सिन्धुलीको राष्ट्रिय अनुसन्धान कार्यालयको समेत अनुसन्धानमा पुरानो तौरतरिका रहेको र अनुसन्धान विश्वासिलो नभएको उनले आरोप लगाए। 

प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले प्रदेश सरकारलाई अटेर गरेको भन्दै उनले मान्नुपर्ने क्षेत्रमा नमानेर एकैपटक केन्द्रीय तहमा चाकरी गर्न जाने गरेको समेत आरोप लगाए। ‘तपाईहरु प्रदेशलाई नमानेर कानुनको बर्खिलाप नगर्नुस्’, उनले भने, ‘धेरै ठुलो बलिदान र रगत बगाएर सबैले आवश्यकता ठानेर ल्याएको व्यवस्थाको बर्खिलाप गर्न मिल्दैन।’

प्रदेश सरकारले सुरक्षाको क्षेत्रमा पर्ख र हेरमा बसेको भन्दै संविधान भन्दा माथि कोही नभएकाले संविधान र व्यवस्थालाई आत्मासाथ गर्दै प्रदेश सरकारका सबै निकायसँग समन्वय हुनुपर्ने उनको सुझाव थियो। ‘प्रदेश सरकारलाई टाढा नसोचौ’, उनले भने, ‘समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्छ।’ 

प्रकाशित: ९ आश्विन २०७५ ११:३१ मंगलबार

कर्मचारी गण्डकी_प्रदेश संघीय_सरकार