राजनीति

सरकारको नकारात्मक काम मात्रै खोजियोः मुख्यमन्त्री पोखरेल

रुपन्देही– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुई कम्युनिष्ट पार्टीको एकतालाई नरुचाउनेहरुको समूहले सरकारको नकारात्मक कामको खोजी मात्र गरेको आरोप लगाएका छन्। उनले सरकारले गरेको राम्रो काम भन्दा नराम्रो कामको खोजी गरेकाले जनतामा भ्रम सिर्जना गर्ने काम गरेको बताए। रुपन्देही व्यापार संघको १७ औं साधारणसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन। 

सरकारले जनताका पक्षमा गरेका निर्णयलाई असफल बनाउन योजनाबद्ध रुपमा विपक्षीहरु लागेको बताए। ‘दुई बर्ष मात्रै सडकमा जान छाडौं, विरोध नगरौं, देशको विकास गरेर छाड्छौं’ उनले भने। 

सरकारको कामबाट आर्थिक विश्लेषकहरु नै असफल भएको दावी गरे। उनले केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको वजेटको जगमा मुलुकको जिडीपीमा सुधार आएको बताए। उनले आर्थिक समृद्धिको दिशा सकारात्मक रुपमा अगाडि बढेको भनेर बुझन आग्रह गरे। 

प्रदेश सरकारले आफ्नो काम शून्यबाट थालेको हुँदा जनताको अपेक्षा अनुसारको काम देखाउन नसकेको स्वीकार गरे। तर अहिले सरकारले काम गरेन भनेर आलोचना गर्नुको कुनै औचित्य नरहेको बताए। केन्द्रबाट प्रदेशलाई पर्याप्त सहयोग नपाएको समेत उनले गुनासो गरे। ५ नं. प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रदेश सरकारले स्थिति अध्ययन गरि योजना छनौट र प्राथमिकताका सूचीहरु तयार गरेको बताए। उनले प्रदेशका राष्ट्रिय गौरवका आयोजनालाई चासोका साथ हेरेको बताए। 

संघीयता व्यवस्थाको विपक्षमा भैरहेको विरोध समय सान्र्दभिक नभएको समेत उनको भनाई छ। उनले संघीय प्रणाली कार्यान्वयनमा आएमा मात्र ७ महिना भएको छ, २ सय ४ वर्षीय राणा शासनलाई नै विर्साउने गरि संघियताको जुन रुपमा विरोध भएको छ यो अबुझहरुको काम भएको आरोप लगाए। बुटवलको वजार विस्तार र विकासका लागि भौतिक संरचनामा परिर्वतन गर्न सुझाव दिए। 

प्रकाशित: ८ आश्विन २०७५ १४:२५ सोमबार

नकारात्मक_काम शंकर_पोखरेल प्रदेश_५