राजनीति

‘राजनीतिक नेतृत्वलाई घोषणापत्रअनुसार काम गरे/नगरेको सचेत गराउनुपर्छ’

काठमाडाैं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानका लागि क्षेत्रको पहिचान आवश्यक रहेको बताएका छन्। 

वौद्धिक वृत नेपालको आठौँ साधारणसभा तथा वौद्धिक दर्पण सार्वजनिक कार्यक्रममा उनले मुलुक विकास र समृद्धितर्फ अघि बढाउनका लागि वौद्धिक व्यक्तित्वले त्यस्ता क्षेत्रको पहिचान गर्नुपर्ने बताए। समृद्धिको नारा दिएर मात्र नभएर ठोस नीति आवश्यक रहेको उनको धारणा थियो। 

कृषि, ऊर्जा, पर्यटन उद्योगजस्ता क्षेत्र पहिचान गरेर मुलुकको आर्थिक विकास र समृद्धिमा लैजान सकिने उनको भनाइ थियो। मन्त्री पोखरेलले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब अधिकार प्राप्तिका लागि लडाइँ लड्नु नपर्ने विचार व्यक्त गरे। 

“अब राजनीतिक अधिकार प्राप्तिका लागि पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारीजस्तै भूमिगत भएर काम गर्नु आवश्यक छैन”, उनले भने, “हिजो जेल हालेको, भूमिगत बसेको भनेर कथा हालेर राजनीतिक चल्दैन। अहिले देशलाई आर्थिक विकास र समृद्धि चाहिएको छ।” 

उनले आर्थिक विकास र समृद्धिमा लैजानका लागि नीति, विधि, संरचनाको परिमार्जन आवश्यक रहेको बताए। नेता पनि आचरणमा बाँधिनुपर्ने भन्दै राजनीतिक नेतृत्वलाई के बोलेको र घोषणापत्रअनुसार काम गरे/नगरेको वौद्धिक व्यक्तित्वले सचेत गराउनुपर्ने बताए। रासस

प्रकाशित: ६ आश्विन २०७५ १२:५५ शनिबार

ईश्वर_पोखरेल आर्थिक_विकास घोषणापत्र