राजनीति

विश्वकर्माको पक्राउ र रिहाईले वार्तामा असहजता : संयोजक पाण्डे

काठमाडौं– सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन्। 

शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्ने बताए। ‘हामीले प्रकाण्डबारे अदालत र सरकारसँग कुराकानी गरेका थियौं, अदालतले दोषी नरहेको भन्दै रिहाई गर्न भन्ने र गृहले अदालतको परिसरबाटै पक्राउ गर्ने प्रक्रियाले अनेक प्रश्न खडा भएका हुन।

भदौ ८ गते गठन गरिएको वार्ता टोलीले गृह मन्त्रालयमा कार्यालय खडा गरेर काम थालनी गरेको थियो, भदौ २५ गते नै सम्पूर्ण असन्तुष्ट पक्ष र समूहलाई वार्तामा आउन खुल्ला आह्वान गरेको थियो, त्यसयता १२ वटा समूहहरु वार्तामा आएका छन्।

उनले प्रकाण्डलाई बारम्बार पक्राउ गर्नुको भित्रिकारण उजुरी र जाहेरीको आधार रहेको सुनाए। उनले भने, ‘त्यही उजुरी र जाहेरीका आधारमा प्रहरीले प्रकाण्डलाई पक्राउ गर्ने र अदालतले दोषी नभेटेपछि रिहाई गर्ने आदेश दिएको रहेछ, नेकपा विप्लव समूह राजनीतिक मोर्चा हो, उसले उठाएका मागहरु राजनीतिक छन्, त्यसैले सरकार यस्ता मोर्चा र अन्य अराजनीतिक समूहको बारेमा जानकार छ।’

वर्तमान सरकारको उद्देश्य भनेको नै कुनैपनि समूह रहितको मुलुक बनाउनु रहेको उनको भनाई छ। उनले थपे, ‘सरकार मुलुकमा शान्ति, अमनचयन चाहन्छ, विकास र समृद्धिको परिकल्पनालाई साकार पार्न चाहन्छ, सबै किसिमका असन्तुष्टिहरु मेटेर मुलुकलाई शान्ति, स्थायित्व कायम राख्ने दिनका रुपमा असोज ३ गतेलाई  संविधान दिवस मनाईसकेका छौैं।’

संविधान गतिशील दस्तावेज भएका कारण आफ्ना मागहरु राख्न पाउने र मुलकको हितमा रहेर त्यसलाई संशोधन गर्न पाउने अधिकार रहेको बताउँदै उनले भने, ‘भदौ ८ गते गठन गरिएको वार्ता टोलीले गृह मन्त्रालयमा कार्यालय खडा गरेर काम थालनी गरेको थियो, भदौ २५ गते नै सम्पूर्ण असन्तुष्ट पक्ष र समूहलाई वार्तामा आउन खुल्ला आह्वान गरेको थियो, त्यसयता १२ वटा समूहहरु वार्तामा आएका छन्, सातवटा समूहलाई वार्तामा आउन हामीले नै आग्रह गरेका छौं।’

राजनीतिक आस्था र जनताको हितमा गठित समूहहरुको बारेमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै पाण्डेले आफ्ना मागहरु ल्याएर वार्तामा आउन सम्पूर्ण द्वन्द्वरत समूहलाई आग्रह समेत गरे। 

प्रकाशित: ५ आश्विन २०७५ ०८:०० शुक्रबार

उच्चस्तरीय_वार्ता_समिति नेकपा_विप्लव_समूह पक्राउ_र_रिहाई