राजनीति

सीके राउतका जिल्ला संयोजकसहित ३२ पक्राउ, राजपाको प्रदर्शन

रौतहट– संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन गौरमा भेला भएका सीके राउत समूहका ३२ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

बुधवार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गर्ने क्रममा शिवालय मन्दिर क्षेत्रबाट जिल्ला संयोजक अशोककुमार सिंह, सह संयोजक वीरेन्द्र साह, केन्द्रीय सदस्य चन्दन सिंह र विनयकुमार वर्मालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा बुझाएको छ भने नेपाल प्रहरीले २८ जना कार्यकर्ताहरु गरी जम्मा ३२ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी महेन्द्रप्रसाद मरासनीले बताए। 

स्वतन्त्र मधेशको परिकल्पना गरी संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन तथा प्रदर्शन गर्न सीके राउत समूहका पूर्व निर्धारित कार्यक्रम अनुसार गौरको विभिन्न स्थानहरुमा भेला भइरहेका वेला सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ३२ जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको र उनीहरुबाट बरामद भएका पर्चा पम्पलेटहरुको आधारमा माथिको निर्देशन अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने डिएसपी मरासनीले बताए। 

गौरमा राजपाको प्रदर्शन, मन्त्री नै विरोधमा

यसैबीच संविधान दिवसको विरुद्धमा रौतहटको सदरमुकाम गौरमा राष्ट्रिय जनता पार्टी नेपालले कालो दिनको रुपमा मनाउँदै विरोध प्रर्दशन गरेको छ। 

प्रदेश सरकारका उद्योग पर्यटन तथा वन राज्य मन्त्री सुरेश मण्डलको नेतृत्वमा सदरमुकाम गौरमा विभिन्न नाराहरु लगाउँदै विरोध गरेका छन्। सभालाई सम्बोधन गर्दै राज्यमन्त्री मण्डलले विभेदकारी एवं त्रुटीपूर्ण संविधानलाई हामी पूर्ण रुपमा मान्दैनौ, संशोधन भएर पूर्ण रुपमा मधेश र मधेशमा बसोवास गर्ने जनताहरुको अधिकार सुनिश्चिता हुँदैन तबसम्म आजको दिनलाई कालो दिनको रुपमा मनाउने बताए। सयौं मधेशी जनताहरु बलिदानी दिएपनि आजको यस विभेदकारी संविधानलाई कुनैपनि अवस्थामा मान्य नहुने बताउँदै राज्य मन्त्री मण्डलले देशको संविधान सबैको हितमा भएपछि मात्रै मान्य हुने उनले स्पष्ट पारे।

उक्त कार्यक्रमलाई गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ता, कण्ठमुनी जयसवाल, सहितका महिला तथा विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए।

प्रकाशित: ३ आश्विन २०७५ १४:४९ बुधबार

सीके_राउत संविधान_दिवस राजपा