राजनीति

प्रदेश सरकारको सम्पर्क कार्यालय काठमाडौँमा राख्न सुझाव

काठमाडौँ-सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय मुलुकको राजधानी काठमाडौँमा खोल्नुपर्ने सुझाव दिइएको छ। सरकारले गठन गरेको प्रदेश सरकार समस्याबारे बुझ्न गठित अध्ययन समितिले सङ्घ र प्रदेश सरकारबीच समन्वय गर्नका लागि काठमाडौँमा प्रदेश सरकारको कार्यालय स्थापना गर्नुपर्ने सुझाव दिएको समिति सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदार अधिकारीले जानकारी दिए।

‘‘सङ्घीय र प्रदेश सरकारबीच समन्वयको खाँचो देखिएको छ’’ उनले भने, ‘‘दुबै सरकारको समन्वय गर्नका लागि सङ्घमा सबै प्रदेश सरकारको सम्पर्क कार्यालय स्थापना गर्नुपर्दछ।’’ सरकारले प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी, लक्ष्मण मैनाली र लालशङ्कर घिमिरे रहेको तीन सदस्यीय प्रदेशको समस्याको बारेमा अध्ययन समिति गठन गरेको थियो। यसैगरी समितिले प्रदेश सरकारलाई आवश्यक कर्मचारी, कानून र भौतिक पूर्वाधारमा कमी भएकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रदेश सरकार सञ्चालनमा कठिनाइ भएको छ। यसैगरी समितिले कतियय प्रदेशका मन्त्रालय नाम पुनःसंरचना हुन पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रदेशको भौगोलिक अनुसार मन्त्रालयको नाम नरहेकाले पुनः संरचनाको आवश्यकता देखिएको सचिव अधिकारीले बताए।

प्रदेश नं ५ कर्णाली र ७ नं मा सचिव अधिकारी, प्रदेश १ र २ मा सचिव मैनाली र प्रदेश नं ३ र गण्डकीमा सचिव घिमिरे स्थलगत अध्ययनको लागि पुगेका थिए। समितिले मुख्यसचिव लोकदर्शन रेग्मीलाई प्रतिवेदन बुझाइसकेको छ। रासस 
 

 

प्रकाशित: २ आश्विन २०७५ १०:१७ मंगलबार

प्रदेश सम्पर्क