राजनीति

ईन्टरनेटको गलत प्रयोगले महिला हिंसा बढ्याे : गृहमन्त्री थापा

फाइल तस्विर

काठमाडाैं - गृहमन्त्री रामबहादुर थापाले मदिरा, लागुपदार्थ र ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढ्दै गएको बताएका छन्। सोमवार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा सहितका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री थापाले मदिरा, लागुपदार्थ लगाएत ईन्टरनेटको गलत प्रयोगमा मन्त्रालयले कडाइ सुरु गरेको बताए।

महिला हिंसा र बलात्कारका घटनालाई सरकारले गम्भिर रुपमा लिएको बताउँदै गृहमन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारको घटनाबाट आफू दुखित भएको र दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे।

आफूले गृहमन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विष्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए। छलफलमा आयोगका अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरे।

 

प्रकाशित: १ आश्विन २०७५ १४:१९ सोमबार

गृहमन्त्री रामबहादुर_थापा