राजनीति

संविधानबारे फोरमका दोहरो भूमिका

काठमाडौं – संविधान जारी भएको दिन असोज ३ लाई कसरी मनाउने भन्ने विषयमा सत्तारूढ दल संघीय फोरमले दोहारो भूमिकामा देखिएको छ।

असोज ३ मा कस्तो कार्यक्रम गर्ने भन्नेबारे केन्द्रले अहिलेसम्म कुनै निर्णय गरको छैन । तर प्रदेश २ समितिलाई कालो दिवस मनाउन निर्देशन गरेको छ । फोरमका महासचिव रामसाह यादवले असोज ३ लाई कसरी मनाउने भन्ने विषयमा केन्द्रीय समितिले अहिलेसम्म कुनै निर्णय नगरेको बताए । ‘संविधानमा त्रुटी छ । यसलाई सच्च्याउनु पर्छ भन्ने हाम्रो माग यथावत छ तर असोज ३ लाई कसरी मनाउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन,’ उनले भने । फोरमका केन्द्रिय सदस्य डा.शिवजी यादवले भने असोज ३ लाई कालो दिवसकारूपमा यस वर्ष फोरमले नमनाउने बताए । उनले भने, ‘असोज ३ मा संविधान दिवसका कुनै कार्यक्रममा हामी सहभागी हुँदैनौ तर कालो दिवस पनि मनाउँदनौ।’

संघीय समाजवादी फोरम, प्रदेश २ ले संविधान जारी भएको दिन असोज ३ लाई कालो दिन मनाउने निर्णय गरेको छ। आइतबार सप्तरीमा बसेको फोरमको प्रदेश कार्यसमितिको बैठकले संविधान दिवसको अवसरमा आयोजना हुने कुनै कार्यक्रममा सहभागी नहुन पार्टी सम्बद्ध जनप्रतिनिधिलाई आग्रह गरेको छ।

तत्कालिन सरकारले मधेशका जनतामाथि बन्दुक तेस्र्याएर जबरजस्ती संविधान जारी गरेको भन्दै त्यसको विरोधस्वरूप असोज ३ लाई कालो दिन मनाउने निर्णय गरेको फोरमकी प्रदेश अध्यक्ष रेणु यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असोज ३ गते पार्टीका सम्पूर्ण कार्यकर्ताले दिनभर हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानमा कालो झण्डा झुन्ड्याउने र साँझ सात बजेदेखि सबा सात बजेसम्म बत्ती निभाएर ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको फोरमका प्रदेश सचिव शेषनारायण यादवले बताए।

प्रकाशित: १ आश्विन २०७५ ०१:४५ सोमबार

संविधान संघीय_फोरम