राजनीति

शिक्षामा एक वर्षभित्र संख्यात्मक होइन गुणात्मक परिवर्तन हुन्छः प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन्। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालय सभाको आइतबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विकासमापछि पर्याे भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने बताए।

“प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिमका सम्भावना धेरै छन्। यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ।” ओलीले शिक्षामा एक वर्षभित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने भन्दै सरकारले हरेक पक्षमा परिणाम हेर्ने बताए। “म कसैको मुख हैन कामको परिणाम हेर्छु” प्रधानमन्त्री ओलीले भने।

विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरूका सम्बन्धमा छानविन गर्नका लागि दुईवटा समिति गठन गरेका छन्। विश्वविद्यालयमा समायोजन भएका आंगीक क्याम्पसहरूको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाहरूका विषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिबको नेतृत्वमा एक समिति गठन गरेका छन्।

दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ। समितिको प्रतिवेदन अध्ययन गरेर विश्व विद्यालयसभाको बैठक पुन आयोजना गर्ने गरी स्थगित गरिएको छ। 

 

प्रकाशित: ३१ भाद्र २०७५ ०७:३९ आइतबार

प्रधानमन्त्री सुदूरपश्चिमाञ्चल_विश्वविद्यालय सभा