राजनीति

मौलिक हकसम्बन्धी विधेयक पारित गर्न हम्मे

काठमाडौं - संविधानबमोजिम आगामी असोज २ गतेभित्र संविधानको मौलिक हकसम्बन्धी विधेयक पारित गर्नुपर्ने अवस्था छ। सरकारले संसद्मा दर्ता गरेका मौलिक हकसम्बन्धी १६ विधेयकमध्ये अहिलेसम्म वातावरण संरक्षण(पहिलो संशोधन) विधेयक मात्रै दुवै सदनबाट पारित भएको छ।

राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको यो विधेयक प्रतिनिधिसभाको शनिबारको बैठकले पारित गरेको हो। शनिबार प्रतिनिधिसभाले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक पनि पारित गरेको छ। दुवै सदनबाट पारित भएको यो विधेयक मौलिक हकसम्बन्धित विधेयक नभएकाले मौलिक हकसम्बन्धी एउटा विधेयक मात्र पारित भएको छ।

राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले भने, ‘असोज १ गतेभित्र संसद्ले सबै विधेयक पारित गरिसक्नुपर्ने छ भने असोज २ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पु-याउनु पर्दछ, धेरै काम सकिएकाले अब मौलिक हक सम्बन्धी सम्पूर्ण विधेयक त्यस समयभित्र पारित गर्न सम्भव छ,’ उनले भने।

प्रतिनिधिसभाले पारित गरेर राष्ट्रियसभामा पठाएका मौलिक हकसम्बन्धी सात विधेयकमाथि आइतबार राष्ट्रियसभाले पारित गर्ने भएको छ। यी विधेकमाथि शनिबार सैद्धान्तिक छलफल सकिएपछि राष्ट्रियसभाले संशोधनको समय दिएको छ। ती विधेयकमा सुरक्षित मातृत्व तथा प्रजननन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, उपभोक्ता संरक्षणसम्बन्धी विधेयक, खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, आवसको अधिकारसम्बन्धी विधेयक, भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक रहेका छन्।

राष्ट्रियसभाले शनिबार बालबालिकासम्बन्धी विधेयक दुई दिनअघि राष्ट्रियसभाले पारित गरेको अपराधपीडित संरक्षण विधेयकमाथि शनिबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको छ। सरकारले प्रतिनिधिसभाको सचिवालयमा १३ र राष्ट्रियसभाको सचिवालयमा ३ वटा मौलिक हकसम्बन्धी विधेयक दर्ता गरेको थियो । राष्ट्रियसभामा बालबालिकासम्बन्धी विधेयक, अपराधपीडितको संरक्षण विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक दर्ता भएको थियो भने मौलिक हकबाहेकको अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक पनि राष्ट्रियसभामा दर्ता भएको थियो।

प्रतिनिधिसभाको शनिबारको बैठकले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछूत(कसुर र सजाय) पहिलो संशोधन विधेयक सामाजिक सुरक्षा विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक प्रतिवेदन पारित गरेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा दर्ता भएर समितिमा पुगेका सम्पूर्ण विधेयक संसद्मा परिमार्जन प्रतिवेदनसहित पेश भएका छन्। अब दुवै सदनबाट विधेयकहरू पारित भएपछि प्रमाणिकरणका लापतिसमक्ष पठाइनेछ । आगामी २ गतेभित्र विधेयक पारित गर्नका लागि दुवै सदनका बैठक शनिबार पनि सक्रिय थिए।

प्रकाशित: ३१ भाद्र २०७५ ०१:५९ आइतबार

मौलिक_हक संविधान