राजनीति

देश समृद्ध हुन प्रदेश समृद्ध हुनुपर्छ : मन्त्री यादव

फाइल तस्विर

लहान - उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले देश समृद्ध बन्न प्रदेश समृद्ध हुनुपर्ने बताएका छन्। उद्योग वाणिज्य संघ सिरहाको ३१ अाैं वार्षिक साधारणसभाकाे शनिवार उद्घाटन गर्दै मन्त्री यादवले प्रदेश समृद्ध नभएसम्म देश समृद्धिको सपना साकार हुन नसक्ने बताए।

प्रदेश २ मा कृषि उत्पादनको सम्भावना बलियो भएको बताउँदै उनले कम समयमा लगानीको लाभ लिन सक्ने कृषि बाहेक अर्को स्रोत नभएकाे बताए। मन्त्री यादवले भने,‘कृषिमा लगानी, बजारीकरण र औद्योगिकरणको वातावरण बनाउन सके प्रदेश समृद्ध हुन्छ, देश समृद्ध हुन्छ।’ प्रदेश २ को कृषिलाई औद्योगिकरण गर्न सके यसले सातै प्रदेशलाई खाद्यान्न आपुर्ती गर्न सक्ने उनले बताए। देश बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री यादवले अब निजी क्षेत्र प्रदेश २ मा कृषि उद्योग स्थापना गर्न सक्रिय हुनुपर्नेमा जाेड दिए। सहुलियत, सुबिधा र सहयोग नपाउँदा यहाँका किसानहरुको खेतीतर्फ आकर्षण घट्दै गएको उनको भनाई थियो।

किसानले खेती छाडेपछि देशको परिचय समेत फेरिएको बताउँदै उनले भने,‘हामी अन्न निर्यातकर्ता देशबाट आयातकर्ता भएका छौं, जबसम्म राष्ट्र खाद्यान्नमा आत्मनिर्भर हुन्न तबसम्म समृद्धि पाउन कठिन छ।' सरकार कृषिलाई प्राथमिकतामा राखेर योजना अघि बढाउने तयारीमा रहेको उनले बताए।

 

प्रकाशित: ३० भाद्र २०७५ १२:५२ शनिबार

उद्योग_वाणिज्य_तथा_आपुर्ती_मन्त्री मातृका_यादव