राजनीति

सर्वाेच्चको चेतावनीपछि पनि प्रकाण्ड पक्राउ

काठमाडौं – सर्वाेच्च अदालतको कडा आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई शुक्रबार रिहा गरेलगत्तै नेपाल प्रहरीले फेरि पक्राउ गरेको छ। उनलाई सर्वाेच्च अदालत परिसरबाटै पक्राउ गरिएको हो । यसअघि नै उनी सर्वोच्चको आदेशमा रिहा भएलगत्तै तीनपटक पक्राउ परिसकेका छन्।

न्यायाधीशद्वय अनीलकुमार सिन्हा र प्रकाश राउतको संयुक्त इजलासले शुक्रबार विश्वकर्माको रिहाइका लागि पटकपटक दिएको आदेश छल्ने प्रयास भएको भन्दै सरकारलाई गम्भीर हुन चेतावनी दिएको थियो। तर पनि उनी पुनः पक्राउ परेका छन्। सर्वोच्चले नागरिक अधिकार रक्षाका लागि अदालत मौन बस्न नसक्ने चेतावनी पनि दिएको छ। ‘नागरिक वैयक्तिक स्वतन्त्रताको उपयोगको विषयमा सरकार तथा सरकार मातहतका नियकायहरु असंवेदनशील र गैरजिम्मेवार हुने छुटका लागि यो अदालत मौन रहन नसक्नेतर्फ विपक्षी नेपाल सरकार र सरकारमातहतका नियकायहरु र जिम्मेवार पदाधिकारीको समेत गम्भीर ध्यानाकर्षण गराइएको छ,’ सर्वाेच्चको आदेशमा भनिएको छ।

सो इजलासले सर्वाेच्च अदालतका मुख्य रजिस्ट्रार राजन भट्टराईको रोहवरमा विश्वकर्मालाई रिहा गरी त्यसको निस्सा अदालतमा पेस गर्न आदेश दिएको थियो।

‘आदेशबमोजिम विश्वकर्मा छुट्नु पनि भयो र लगत्तै बाहिरबाट नेपाल प्रहरीले पक्राउ गरेको हामीले देख्यौं,’ सर्वाेच्चका एक कर्मचारीले भने, ‘तर किन फेरि पक्राउ गरियो, हामीलाई थाहा भएन।’ सर्वोच्च परिसरबाट उनलाई पक्राउ गर्न खोज्दा अदालतको आदेश हेर्नुभएको छ भनी प्रहरी टोलीलाई विश्वकर्माका तर्फबाट सोधे पनि त्यसको बेवास्ता गरिएको थियो। विश्वकर्माले गिरफ्तार हुनुअघि भनेका थिए, ‘अदालतले आदेश गरेको यो चौथो पटक हो। अदालतको आदेशलाई यो (केपी) ओली सरकार र रामबहादुर थापा प्रशासन मान्न तयार छैन। यो नेपाली जनताको सरकार होइन। यो दलाल, भ्रष्ट, जनविरोधीहरूको सरकार हो।’

उनको रिहाइका लागि सर्वाेच्च अदालतले भदौ १, ७ र १८ गते आदेश दिइसक्दा पनि सरकारले पटकपटक पक्राउ गर्दै विभिन्न फौजदारी मुद्दामा म्याद थप गर्दै गएको छ।

प्रकाशित: ३० भाद्र २०७५ ०१:२२ शनिबार

सर्वाेच्च_अदालत प्रकाण्ड नेपाल_कम्युनिस्ट_पार्टी