राजनीति

महाधिवेशनको तयारीमा जुट्यो राजपा

काठमाडाैं - राष्ट्रिय जनता पार्टी नेपाल आगामी वैशाखमा हुने महाधिशनको तयारीमा जुटेको छ। बिहीबार बसेको राजपा अध्यक्षमण्डल बैठकले महाधिवेशनका लागि साधारण सदस्यता वितरण, नवीकरण र सक्रिय सदस्यताको फारम भर्ने अन्तिम समय २०७५ कार्तिक मसान्तलाई तोकेको छ। कार्तिक मसान्तसम्ममा बितरित र नविकरण गरिएका साधारण सदस्यताको अधकट्टीसहितको सूची र सक्रिय सदस्यता फारमसहितको सूची २०७५ मंसिर ५ गतेसम्म पार्टी केन्द्रीय कार्यालयमा आउनुपर्ने जिल्ला समितिलाई सर्कुलर जारी गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी बैठकले राजपाको विधान २०७४ (संशोधन–२०७५)लाई पारित गरेको छ। यसैगरी, प्रदेश २ को प्रदेशसभा, र संसदीय दलको विधान २०७५ परिमार्जनसहित पास गरेको छ। यसैगरी बैठकले यसअघि पार्टीबाट अलग्गिएका पार्टीका नेता तथा कार्यकर्तालाई राजपामा फर्कन आग्रह गरको छ।

बैठकले संविधान जारी भएको दिन असोज ३ गतेमा पार्टीले गर्ने देशव्यपी विरोधसभालाई सम्बोधन गर्न पार्टीका नेताहरूको ठाउँ तोकेको छ। सोअनुसार, संयोजक महन्थ ठाकुरले पर्सा र बारामा, राजेन्द्र महतो र अनिल कुमार झाले प्रदेश ५ का बाँके, बर्दिया तथा प्रदेश ७ का कैलाली र कञ्चनपुरमा सम्बोधन गर्ने भएका छन्। यसैगरी महेन्द्र राय यादवले प्रदेश ५ का नवलपरासी, रूपन्देही र कपिलवस्तुमा, शरत्सिंह भण्डारीले प्रदेश १ को झापामा र राजकिशोर यादव प्रदेश १ को मोरङ र सुनसरीमा सम्बोधन गर्ने भएका छन्।

बैठकले प्रदेश २ का मन्त्री र राज्यमन्त्रीलाई पनि सम्बोधन गर्ने स्थान तोकेको छ। सोअनुसार, सप्तरीमा जितेन्द्र सोनल, सिरहामा रामनरेश राय, धनुषामा नवलकिशोर साह, महोत्तरीमा डिम्पल झा, सर्लाहीमा अभिराम शर्मा र रौतहटमा सुरेश मण्डलले सम्बोधन गर्ने भएका छन्।

प्रकाशित: २९ भाद्र २०७५ ०१:२९ शुक्रबार

राष्ट्रिय_जनता_पार्टी